काठमाडौं । निर्देशक सुदर्शन थापा हिरासतबाट रिहा भएका छन् । फिल्म ‘प्रसाद-२’को विवादमा गत सोमबार पक्राउ परेका निर्देशक थापा रिहा भएका हुन् ।
बुधबार काठमाडौँ जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
आपराधिक विश्वासघात गरेको आरोपमा सोमबार दिउँसो फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्ने बेला बालुवाटारको रोयल इम्पायर होटलमा रहेको सेटबाटै प्रहरीले पक्राउ गरेको थियो ।
निर्देशक थापालाई प्रहरी वृत्त मालीगाँउले पक्राउ गरी जाहेरी दर्ता भएको प्रहरी वृत्त बौद्धमा पठाएको थियो । उनी ‘प्रसाद-२’को निर्देशक हुन् ।
जिल्ला अदालतबाट दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको प्रहरीले बुधबार उनलाई पुनः अदालतमा उपस्थित गराएको थियो । त्यसपछि अदालतले उनलाई जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको हो ।
फिल्म ‘प्रसाद-२’ निर्मातामध्येका एक सुदर्शन बस्नेतले थापाविरुद्ध गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै जाहेरी दिएका थिए । निर्देशक थापासहित सम्पादक मिलन श्रेष्ठ र ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालविरुद्ध पनि आपराधिक विश्वासघातको उजुरी परेको थियो ।
निर्माता बस्नेतले आफूहरूको मन्जुरी बिना फिल्म प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएका थिए ।
निर्माता बस्नेतले यस अघि सूत्र न्यूजसँग भनेका थिए, ‘म प्रसाद २ को निर्माता हुँ तर सुदर्शन थापाले मेरो अनुमतिविना विदेशमा ९० लाखमा फिल्म बेचे, अनि ओएसएआर डिजिटलका ओमप्रकाश अग्रवाललाई पनि ६० लाखमा डिजिटल राइट्स दिएछन् । त्यसैले जाहेरी दिएको हुँ ।’
बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएपछि थापालाई उजुरी परेको ७ महिनापछि पक्राउ गरिएको थियो । अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए ।