फ्राइडे रिलिज : हलमा दुई नयाँ फिल्म, कसले मार्ला बाजी ?-Sutra News

फ्राइडे रिलिज : हलमा दुई नयाँ फिल्म, कसले मार्ला बाजी ?

शुक्रबार, २५ जेष्ठ २०८१

शुक्रबार, २५ जेष्ठ २०८१

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट दुइवटा नयाँ नेपाली फिल्म प्रदर्शन भएका छन् । ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ आजबाट प्रदर्शनमा आएका हुन् ।



आक्रामक प्रचार प्रसारका कारण चर्चामा रहेका दुईवटै फिल्मले उत्साहजनक शोज पाएका छन् । यी दुवै फिल्मलाई ओपनिङ राम्रो व्यापार गर्न वर्डअफ माउथको भर पर्नु पर्ने देखिन्छ ।

फिल्म ‘लन्डन टु पेरिस’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन्। नेपाली डायस्पोराको कथा भन्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गाउँ आएको बाटो’ले गाउँमा गाडी आएपछि परम्परागत पेसामा आएको संकटको कथा भन्नेछ ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बालगायत कलाकारको मुख्य भूमिका छ ।

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक नवीनले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक नवीन स्वयं हुन् ।

‘नुमाफुङ’ बनाएर फरक धारका फिल्मका लागि प्रशंसाबटुलेका सुब्बाको यो तेस्रो फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट