काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् । यो घटना बिहीबार दिउँसो भएको हो ।
चुनाव जितेपछि कंगना भारतीय जनता पार्टी (बीजेपी)को बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको उडानमा दिल्ली प्रस्थान गर्नेक्रममा यो घटना भएको बताइएको छ ।
कंगना एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कदै गर्दा महिला सिपाहीले उनको हात उचालेकी थिइन् । यस विषयमा गुनासो गर्दै अभिनेत्रीले महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन् ।
कंगनाले यस विषयमा उजुरी दर्ता पनि गराएकी छिन् । उनलाई थप्पड हान्ने महिला सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ । कंगनालाई थप्पड हानेकी कुलविन्दरलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
किसान आन्दोलनको विषयमा कंगनाले दिएको बयानका कारण सीआईएसएफ जवानले थप्पड हानेको रिपोर्टमा बताइएको छ । कंगनाले हालै सम्पन्न लोकसभा चुनाव हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट चुनाव जितेकी छन् ।
कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । उनले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका थिए ।