काठमाडौं । रिलिजको पूर्वसन्ध्यामा फिल्म ‘लण्डन टु पेरिस’को बिहीबार साँझ ग्राण्ड प्रिमियरको आयोजना गरिएको थियो । काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा राखिएको प्रिमियरमा आकर्षणको केन्द्रविन्दू फिल्मकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बनेकी थिइन् । उनी कालो रंगको वानपिसमा बोल्ड अवतारमा उपस्थित भएकी थिइन् । नायक द्धय निश्चल खड्का र कबीर खड्का आकर्षक बनेर पुगेका थिए ।
घनश्याम लामिछाने निर्देशित फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्ममा साम्राज्ञी, निश्चल, कविर र गरिमाका अलवा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।
प्रिमियरमा सहभागी अधिकांशले फिल्मको प्रशंसा गर्दै ‘लण्डन टु पेरिस’को कथावस्तु मनपरेको प्रतिक्रिया दिएका थिए । फिल्म हेरेर निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण ‘लण्डन टु पेरिस’ले दिएको बताए । उनले भने, ‘मलाई फिल्म राम्रो लाग्यो, विदेशमा बसेर पनि त्यहाँका नेपालीको नेपालप्रति लगाव छ भन्ने कुरा यसले देखाएको छ, विदेशी भूमिमा बनाइएका धेरै नेपाली फिल्म चल्न सकेका छैनन्, तर यो फिल्मले राम्रो चल्ने सम्भावना देखाएको छ ।’
प्रिमियरमा निर्देशक बस्नेतकी छोरी सलिना बस्नेत पनि उपस्थित थिइन् । फिल्मका मुख्य नायक निश्चल ‘फ्युचर स्टार’ रहेको तारिफ गर्दै उनले भनिन्, ‘म निश्चलका लागि आएको हुँ । हामी अष्ट्रेलियादेखिको साथी हौं । र, उसको अभिनयले निरास बनाएन, साम्राज्ञीसँग राम्रो केमेस्ट्री देखिएको छ ।’
फिल्मका लेखक प्रदीप भारद्वाजले लेखकका रुपमा लेखेका कुरा प्राविधिक रुपमा केही तलमाथि भए पनि ‘लण्डन टु पेरिस’ राम्रो बनेको बताए । ‘फिल्म हेरिरहँदा यस्तो अथवा उस्तो हुनुपर्ने भन्ने कुरा आइहाल्छ, तर यो फिल्म विदेशमा भएर सफल जीवन बिताइरहेका नेपालीको कथा भएकाले सबैलाई छुन्छ भन्नेमा विश्वस्त छु’, उनले भने ।
निर्देशक लामिछानेले एउटा राम्रो प्रेमकथालाई फिल्ममा आफूले भनेको बताए । उनले भने, ‘फिल्म विदेशमा खिचिए पनि नेपालीकै कथा छ, यो फिल्मबाट अभिनेताका रुपमा डेब्यू गरेका निश्चल खड्काले सानैदेखि आफूलाई हिरोका रुपमा पर्दामा हेर्न चाहेको कुरा अहिले आएर पुरा भएकोछ, आफूलाई पर्दामा देख्दा भावुक पनि भएँ, फिल्म हेर्नुहुनेले राम्रो भनी प्रतिक्रिया दिइरहनुभएको छ ।’
नायक कवीरले आफूले कलाकार भन्दा पनि दर्शकका रुपमा फिल्म हेरेकाले ‘इन्जोय’ गरेको बताए । ‘गौरव, अपिल, दीपा जस्ता जुन क्यारेक्टर छन्, उनीहरु पूर्ण रुपमा चरित्रमा भिजेका छन् । मैले आफूले गर्न सक्ने सबै काम गरेको छु’, उनले भने ।
‘डेब्यू’ अभिनेत्री गरिमा शर्माले सानो पर्दामा दर्शकको माया पाए जसरी ठूलो पर्दामा पनि त्यसरी नै माया पाउने आशा व्यक्त गरिन् । उनले भनिन्,‘आफूले दिन सक्ने सतप्रतिशत काम दिने प्रयास गरेको छु, नयाँ छु, सिक्दै जानेछु, आगामी दिनमा अझ सुधार्ने प्रयास गर्नेछु ।’
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।
फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।
यो फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ ।