काठमाडौं । केन्द्रीय राजनीतिमा आएको उपथपुथलकारी घटनाका बीच उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल एकै पटक सत्ता राजनीतिबाट पाखा परेको छ । यादव नेतृत्वको जसपा केन्द्र सरकारबाट मात्रै नभई प्रदेश सरकारबाट पनि पाखा पन्छिएको हो ।
पार्टी विभाजनसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमाथि आरोप लगाउँदै यादव गत वैशाख अन्तिम साता केन्द्र सरकारबाट बाहिरिएका थिए । उनी स्वयम् प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा थिए ।
तर, उनी विदेश भ्रमण गएकै बखत जसपा विभाजन भएको थियो । जुन घटना वर्तमान सत्ता नेतृत्वकर्ताबाट भएको आरोप यादवको छ । जुन घटनापछि उनी केन्द्रको सत्ता राजनीतिबाट पाखा परे ।
सँगै अहिले मधेश प्रदेशको सत्ता राजनीतिबाट पनि उनी पाखा पन्छिएका छन् । उनी नेतृत्वको पार्टीले प्रादेशिक संरचना लागू भएदेखि नै लगातार मधेशको नेतृत्व गर्दै आएको थियो । तर, संघमा सत्ता समीकरण फेरबदल भएसँगै प्रदेशमा पनि यादव नेतृत्वको पार्टी सत्ताको नेतृत्वबाट एकै पटक प्रतिपक्षको बेन्चमा पुगेको छ । मधेशमा केन्द्र सत्ता समीकरणमा रहिरहेका दलहरुको सहयोगमा जनमतको नेतृत्वमा सरकार गठन भएको छ ।
शुक्रबार मात्रै मधेश प्रदेशका प्रमुख सुमित्रा सवेदीले प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त गरेकी छिन् । छ दलका ५५ सांसदको समर्थनमा सिंह तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् ।
सिंहको पक्षमा जनमतसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेका छन् ।
लगातार ७८ महिनादेखि मधेशको सत्तामा
प्रादेशिक संरचना लागू भएपश्चात् विसं २०७४ मा भएको पहिलो निर्वाचनपछि मधेशमा लगातार उपेन्द्र यादव नेतृत्वको पार्टीले नेतृत्व गर्दै आएको थियो । पहिलो निर्वाचनपछि तत्कालीन प्रदेश नं २ (हालको मधेस प्रदेश)मा तत्कालीन संघीय समाजवादी फोरम, नेपाल (हालको जनता समाजवादी पार्टी नेपाल) को नेतृत्वमा सरकार गठन भएको थियो ।
तत्कालीन प्रदेशसभा संसदीय दलका नेता लालबाबु राउतले सत्ता गठबन्धन र राजनीतिक दलमा जस्तो परिवर्तन आए पनि पूरा कार्यकाल प्रदेशको नेतृत्वका गरेका थिए ।
यसपछि २०७९ मंसिर ४ गते दोस्रो निर्वाचनपश्चात पनि जसपा नेपालकै नेतृत्वमा सरकार गठन भएको थियो । मुख्यमन्त्रीका रूपमा जसपा नेपालका नेता सरोजकुमार यादवले नेतृत्व गर्ने अवसर पाएका थिए ।
२०७९ मंसिर ४ देखि लगातार मधेश सरकारको नेतृत्वमा यादव थिए । गठबन्धन र दलमा फेरबदल हुँदा पनि चारपटक उनले विश्वासको मत पाएका थिए ।
तर, यसपटक भने संघ र प्रदेशमा समीकरण हेरफेरसँगै उनी गणीतियरुपमा सकसमा पुगे । योसँगै मधेस प्रदेशमा तत्कालका लागि करिब साढे छ वर्ष अर्थात् ७८ महिनापछि जसपा नेपालले सत्ता गुमाएको छ । उपेन्द्र यादव नेतृत्वको पार्टी समग्रमा संघ र प्रदेशको सत्ता राजनीतिबाट पाखा परेको छ ।