काठमाडौं । फिल्म ‘जेरी: अन टप’मा नायिका आँचल शर्माको प्रवेश भएको छ । यस अघि ‘जेरी अनटप’का लागि नायक अनमोल केसी र आना शर्मा फाइनल भइसकेका छन् ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्ममा अनमोलको जोडी अर्की आनासँग बाँधिने निश्चित भइसकेको छ । जेरीको अघिल्लो शृंखलामा पनि आना र अनमोललाई जोडीको रुपमा देखेका थिए । यता, छायांकनको तयारीमा रहेको फिल्मको शीर्षमध्येको एक भूमिकामा आँचल अनुबन्धित भएकी हुन् ।
अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा फिल्म निर्माण हुन लागेको यो फिल्मका लागि शुक्रबार निर्माण पक्ष र आँचलबीच लिखित सम्झौता भएको हो । उनी दोस्रो अभिनेत्रीको रुपमा भित्रिएको बुझिएको छ ।
निर्माता सरोज न्यौपानेले आँचलसँग केही चरणको वर्तापछि अनुबन्धित गराउन सफल भएका हुन् । सुरुवातमा आँचलले खासै महत्वपूर्ण भूमिका नभएकाले फिल्म साइन गर्न आनाकान गरेकी थिइन्, आज शुक्रबार पुनः छलफल गरेरमात्रै आबद्ध भएकी हुन् । आँचल र अनमोलबीच पहिलोपटक सहकार्य हुने भएको छ ।
‘जेरी अन टप’लाई सुयोग गुरुङको निर्देशन गर्दे छन् । पहिला यो फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने तय भएको थियो तर, उनी अमेरिका गएपछि फिल्ममा सुयोग भित्रिएका हुन् । फिल्मको निर्माणमा न्यौपाने र दीपक भण्डारीले सहकार्य गर्दैछन् । फिल्मको क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् ।
फिल्मको छायांकन असार ६ गतेदेखि सुरु हुने बताइएको छ । फिल्मलाई नेपाल र अष्ट्रेलियामा खिचिने भएको छ । नेपालको छायांकन काठमाडौं, लुक्ला र मुस्ताङमा खिचिने जानकारी प्राप्त छ ।
आँचलको ‘लाइनअप’मा अहिले ‘पिताम्बर’, ‘रानीमहल’, ‘दुःखी आत्मा’ फिल्म पनि छन् ।