काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले धेरै पर्यटक भित्र्याउन नयाँ गन्तव्य खोजी कार्य भइरहेको बताएका छन् । काठमाडौंमा प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५ औं वार्षिक साधारणलाई सम्बोधन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।
यस वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताउँदै उनले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र पर्यटन प्रबर्द्धन गर्न सकिने धारणा राखे । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएको र सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाइ छ ।
उनले निजी क्षेत्रसँग सहकार्य गरेर इको हिल स्टेसन संचालन गर्न सरकारले तयारी गरिरहेको बताउँदै गर्मी छल्न विशेष गरी नेपालका तराईका बासिन्दा र भारतीय पर्यटकका लागि आफ्नो रोजाई अनुसारको मज्जा लिएर रमाउन सकिने धारणा राखे ।
कयौँ मनमोहक बनाउने सुन्दर ताल र हिमश्रृंखलाहरु नेपालमा रहेको भन्दै उनले शान्तिको प्रतिक भगवान गौतम बुद्ध (लुम्बिनी), पशुपतिनाथ, मुक्तिनाथ लगायत कयौँ धार्मिक स्थल पर्यटनको राम्रो गन्तव्य हुन सक्ने धारणा राखे ।
सरकारले यस क्षेत्रको विकासका लागि पहिले लगाउँदै आएको भ्याट र केही कर हटाउने काम भइरहेको र यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने विश्वास सरकारले लिएको उनको भनाइ थियो ।
विश्व पर्यटन बजारमा नेपाल घुम्नै पर्ने सूचीमा पर्ने हुँदा अब पुरानो गन्तव्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तव्यमा पूर्वाधार निर्माणको काम सुरु भइसकेको उनले बताए ।