भारतीय जनता पार्टी (भाजपा) भनेको राष्ट्रिय स्वयम् सेवक संघको जगमा खडा भएको एउटा राजनीतिक दल हो । संघ निश्चित उद्देश्य र लक्ष्यसहित करिब सय वर्षअघि गठन भएको संगठन हो । विश्वको सबैभन्दा ठूलो संगठनमध्येको एक हो यो । यसका सदस्यको संख्या १७ करोडभन्दा बढी छ । अभ्यासमा चाहिँ के छ भने पहिले राजनीतिक दल गठन हुन्छन्, अनि तिनले आफूलाई बलियो बनाउन विभिन्न शाखा संगठनहरू खडा गर्छन् । तर, यहाँ पहिले जनसंगठन खडा भएर त्यसले राजनीतिक दलको महसुस गरेपछि भाजपा गठन भएको छ । यो कुरालाई ध्यान दिइएन भने भारतको राजनीति बुझ्न सकिँदैन ।
अहिले भाजपा कमजोर भयो भनिँदैछ, तर यो पूर्णत सत्य होइन । हो भाजपा र नरेन्द्र मोदीको जुन गति थियो, जुन अपेक्षा थियो, जुन महत्वाकाङ्क्षा थियो, त्यसको आधारमा हेर्ने हो भने चाहिँ कम सिट आएको हो । तर, निर्वाचनको आसपासमा जुन परिस्थिति बन्यो र भाजपाले जस्तो कुराको सामना गर्नुपर्यो त्यस आधारमा चाहिँ टिकेको रूपमा बुझ्नुपर्छ ।
यहाँ यसका कारण पहिल्याउनु उचित हुन्छ ।
पहिलो, भाजपाले गएको चुनावमा आफैं बहुमत हासिल गरेको थियो । गठबन्धनसमेत हुँदा राम्रै अवस्थामा थियो । त्यसबेला अलि स्वतन्त्र प्रतिष्पर्धा पनि भएको थियो । तर, यसपटक भाजपाले कठोर गठबन्धनको सामना गर्नुपर्यो । उत्तर प्रदेशमा कांग्रेस आई र मुलायम सिंहको क्षेत्रीय पार्टी दुबै बलिया पार्टी हुन् । यी दुईको गठबन्धनमा भाजपा त बढारिन सक्थ्यो । तर, पनि उ टिकेको देखिन्छ । दोस्रो त्यहाँ टिकट वितरणमा पनि केही कमजोरी भएको देखिएको छ । पुराना स्थापित मानिसहरूलाई पाखा लगाएर नयाँलाई टिकट दिएको भन्ने छ । यसले पनि धक्का खानुपर्यो ।
अर्को चाहिँ भाजपा राष्ट्रवादी पार्टी हो । अहिले विश्वका कुनै पनि देशमा विदेशी शक्तिको प्रभाव रहन्छ । भारतमा पनि यो प्रभाव थियो । र विदेशी शक्ति राष्ट्रवादी भाजपा र मोदीको विजयको पक्षमा थिएनन् । मोदीको शक्ति र साइजलाई सीमित गर्न उनीहरु लागि परेका थिए ।
अर्को कारण चाहिँ ओवर ‘कन्फिडेन्स’ पनि हो । भाजपामा यो देखिन्थ्यो । कुनै पनि पार्टी या नेता निर्वाचनमा ‘ओभर कन्फिडेन्स’ भयो भने त्यसले चुनाव हार्ने सम्भावना हुन्छ । भाजपा यसैको सिकार भयो ।
यहाँ राजनीतिकरूपमा कसैको जय विजय भएन । यसको परिणाम भारतीय राजनीति अलि अस्थिर हुनसक्छ । पहिले जस्तो स्थायी सरकार नहुन सक्छ । अब पहिले जस्तो मोदीले हात खुट्टा फैलाएर काम गर्न सक्दैनन् । यसले राजनीतिक अस्थिरता पैदा गर्न सक्छ । गठबन्धनका नाइडु र नितिश कुमारमा महत्वाकाङ्क्षा पलाउन सक्छ । यिनीहरूले कतिबेला के निर्णय गर्छन्, भन्न सकिँदैन । यस्तो अवस्था आइपरे मोदीले अलि कठोर निर्णय गर्न सक्छन् । त्यो भनेको मध्यावधि निर्वाचन हो । कुनै उद्देश्य नभएका सत्ता भए पुग्ने नेपालका जस्ता दल र नेतालाई जसरी पनि सत्ता टिकाऊँ भन्ने हुन्छ, तर उद्देश्य भएका दल र नेताले काम गर्ने वातावरण नपाउँदा अगाडि बढ्न जोखिम मोल्न सक्छन् । मोदीलाई परिस्थितिले यो मोडमा ल्याएर खडा गरेको छ ।
नेपालमा यसको गम्भीर असर पर्ने वाला छ । तर, चर्चा भए जसरी होइन, त्यसको ठिक उल्टो हुने वाला छ । भाजपा शक्तिशाली भएर आए नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने आँकलन गरिरहँदा अहिले कमजोर भएका मोदीले यता आँखा लाउँदैनन् भन्ने मनोविज्ञान सही होइन । तर, यहाँ बुझ्नुपर्ने कुरा के छ भने मोदीले दुई तिहाइ ल्याएका भए नेपाललाई होइन भारतलाई नै हिन्दु राज्य बनाउन लागि पर्थे । उनले दुई तिहाइ बहुमतको महत्वाकाङ्क्षा लिएको पनि यस्तै केही कुरा बदल्न, संविधान नै संशोधन गर्नका लागि थियो । तर, अब यो पुरा नहुने भएपछि छिमेकी मुलुक नेपालमै भए पनि हिन्दु राज्य स्थापना गरौँ भन्ने हुनसक्छ ।
भारत नेपालमा पूर्वीय सभ्यताअनुसारको व्यवस्था होस् भन्ने चाहन्छ नै यो लुकेको विषय होइन । भारत नेपालमा आफु अनुकुल वातावरण होस् भन्ने सधैँ चाहन्छ, त्यसअनुरुपका गतिविधि फेरि पनि चलिरहन्छ । यो उसको दृष्टिकोण हो र उसका ठाउँमा उ ठिक छ । तर, हामीले के चाहने भन्ने हो । हामीकहाँ हिन्दुराज्य स्थापनामा सहयोग गरिदेओस् भन्नेहरू छन् । अनि भारतले हस्तक्षेप गर्ला भनेर तर्सने पनि छन् । यी दुवै सही होइनन् । नेपालमा कस्तो व्यवस्था हुने भन्ने कुरा हामीले निर्धारण गर्ने हो । हिन्दु राज्य हाम्रो सभ्यता संस्कृति अनुकुल छ कि छैन ? हामीले त्यो हेर्ने हो र यसको निर्णय नेपाली जनता र राजनीतिक दलले गर्ने हो । भारतले हिन्दु राज्य स्थापना गरिदिएर हुँदैन । अनि गरिदेला भनेर त्रर्सिनेहरु पनि नेपालको हितको पक्षमा भएर तर्सिएका होइनन् । यी यिनका प्रभुहरूले के भन्लान् भनेर तर्सिएका हुन् ।
नेपाल हिन्दु राज्य हुन पर्ने मात्र तीन कारण छन् । एउटा विश्वकै हिन्दु राज्य भनेर अलग पहिचान, दोस्रो तराई र पहाड जोड्ने यो नै मुख्य सेतु हो । काठमाडौं र जनकपुरमा एकैपटक एउटै भावनाका साथ मानिस सडकमा उतार्न सक्ने भावना भनेकै हिन्दुत्वको हो । यो बाहेक अन्य केही कुराले पनि यो सम्भव छैन । तेस्रो भनेको विश्वका करोडौं हिन्दुहरूलाई धार्मिक पर्यटकका रुपमा नेपाल भित्र्याउने वातावरण बन्न सक्छ । यी कारणबाहेक नेपाललाई हिन्दु राज्य बनाउनु पर्ने अर्को कुनै चौथो कारण छैन ।
नेपालमा के भ्रम छ भने कांग्रेस र कम्युनिष्टले गरेका निर्णय देशका पक्षमा र विकासका पक्षमा होला भन्ने । तर, कांग्रेसकै उद्देश्य प्रजातन्त्र ल्याउनु थियो, त्यो आयो । कम्युनिष्टहरूलाई साम्यवादको नारामा टेकेर सत्तामा पुग्नु थियो, उनीहरु अहिले सत्तामै छन् । अब यिनिहरुले यहाँबाट अगाडि सोच्न सक्दैनन् । त्यसैले कुनै पनि वादभन्दा पनि नेपाल सोच्ने शक्ति र नेतृत्वको खाँचो छ । त्यसको जन्म यही अप्ठ्यारो परिस्थितिको गर्भबाट हुन्छ । प्रतिक्षा गरौँ ।
(त्रिपाठीको विचार, कुराकानीमा आधारित छ ।)