काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन् ।
शनिबार नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन् ।
उनले भनेका छन्, ‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथ ग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ? दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन् ।’
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत सरकारले भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।