काठमाडौं । जितपुरसिमरा उपमहानगर २१ स्थित सडकबाट अवैध लागु औषध गाँजा करिब ८० किलोग्रामसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका १० रिकाटार बस्ने २५ वर्षीय मान बहादुर वाइबा र मकवानपुर राक्सीराङ गाउँपालिका ५ बस्ने २६ वर्षीय सुमन स्याङताङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा. १० च ३६१९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला परेको हो ।
यस क्रममा प्रहरीले कार चालक मान बहादुर र कारमा सवार सुमनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।