प्रकाश सपूतको ओपिनङ दृश्य खिच्दै सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’-Sutra News

प्रकाश सपूतको ओपिनङ दृश्य खिच्दै सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’

आइतबार, २७ जेष्ठ २०८१

आइतबार, २७ जेष्ठ २०८१

काठमाडौं । ओखलढुङ्गाको रुम्जाटारबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरू भएको छ।  सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको चर्चित गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भी पौडेलको ओपनिङ दृश्य खिचिँदै छायांकन सुरू गरिएको हो ।



गत वर्ष प्रदर्शित फिल्म ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यु गरेका गायक सपूतको करिअरको यो दोस्रो फिल्म रहेको छ । कलाकारहरूको लाइनअप बलियो रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा सपूतका अलावा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइलीको शीर्ष भूमिका रहेको छ ।

बिहीबार क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजाआजा गरेपछि सुरु गरिएको फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल र बालकलाकार स्वायम् केसी लगायतको पनि अभिनय रहनेछ ।

फिल्म सोसल-ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित रहनेछ । यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मले बुबा-छोराबीचको सम्बन्धको कथा भन्ने जनाइएको छ । सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व परिवारको पनि कथा फिल्मले भन्नेछ । फिल्ममा कलाकारहरुको भूमिका बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले बताएका छन् ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट