काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य भारी गिरावट आएको छ ।
शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य साताको पहिलो कारोबार दिन आइतबार भारी गिरावट आएको हो । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा तोलाकै चार हजार रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा भारी गिरावट आउँदा आइतबार चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । शुक्रबारको तुलनामा तोलाकै ७५ रुपैयाँले घट्दै चाँदीको मूल्य एक हजार आठ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भइरहेको उतारचढाव र स्थानीय बजारमा भन्सार दर फेरबदलसँगै सुनचाँदीको मूल्यमा तिव्र उतारचढाव देखिएको छ ।