‘पुजार सार्की’मा दर्शकको चाप कायमै-Sutra News

‘पुजार सार्की’मा दर्शकको चाप कायमै

आइतबार, २७ जेष्ठ २०८१

आइतबार, २७ जेष्ठ २०८१

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ले हालसम्म पनि दर्शको उच्च साथ पाइरहेको छ ।



जातिय विभेदविरुद्धको कथामा आधारित भएर निर्माण भएको ‘पूजार सार्की’ प्रदर्शनको तेस्रो साता पुग्दा समेत हलमा दर्शकलाई तान्न सफल देखिएपछि फिल्मको निर्माण टिम र कलाकार चितवन र पोखराका विभिन्न हल भिजिटमा निस्केका छन्।

हिजो शनिवार विहानै अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल सहितको टिम चितवन पुगेका थिए। ‘पुजार सार्की’ टिमले चितवनको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योति सिनेमा हल, नारायणगढको इन्द्रदेव सिनेमा, क्यूएफएक्स जलमा र भरतपुरको सिजि मलस्थित सिनेप्लेक्स (क्यूएफएक्स) सिनेमा हलमा दर्शक भेटी साक्षात्कार गरे।

यो टिमले आइतबार दिनभर पोखराका हलहरूमा दर्शकसँग साक्षत्कार गरिरहेको छ।  यस फिल्मले प्रदर्शनको सुरुवात देखि नै पोखराका सबै हलहरूमा दर्शकको उच्च उपस्थिति सहितको व्यापार गरेको छ।

आफ्नै क्षेत्रको कथा र पोखरा नजिक छायांकन भएको कारण पनि पोखरामा दर्शकको चाप रहेको निर्देशक दिनेश राउतको भनाइ छ। हलमा पुग्दा चार पटक सम्म ‘पुजार सार्की’ हेर्न आएका दर्शक देखेर आफू निकै खुसी भएको अभिनेता सिग्देलले बताए। यस फिल्ममा ‘मैयाँ’को भूमिकामा रहेकी अभिनेत्री अञ्जना बराइलीले हलमा दर्शक भेट्न पाउँदा आफू सधैँ खुसी हुने बताइन्।

प्रदर्शनको सत्रौँ दिनमा करिब ८० शो सहित चलिरहेको यो फिल्मले शनिबार देशभरका अधिकांश हलहरूमा हाउस फुल व्यापार गरिरहेको वितरक रोहित कट्टेलले बताए।

दिनेश राउतको निर्देशन, सुबास भुसालको निर्माण, विकास सुबेदीको लेखन रहेको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट