के रामबाबु र उपेन्द्र फेरि एक ठाउँमा आउलान् ?-Sutra News

के रामबाबु र उपेन्द्र फेरि एक ठाउँमा आउलान् ?

आइतबार, २७ जेष्ठ २०८१

आइतबार, २७ जेष्ठ २०८१

काठमाडौं । निर्देशक रामबाबु गुरुङ र लेखक तथा निर्देशक उपेन्द्र सुब्बा नेपाली फिल्म क्षेत्रका ‘ब्लकबस्टर’ निर्देशक मानिन्छन् । पहिलो त उनीहरू हिट सिक्वेल ‘कबड्डी’को ‘कोर टिम’का सदस्य हुन् । उनीहरूले सहकार्य गरेका धेरैजसाे प्रोजेक्ट सफल छन् ।



रामबाबुले निर्देशन गरेको ‘कबड्डी ४ : फाइनल म्याच’ अहिलेसम्मकै नेपाली फिल्म क्षेत्रको इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्ममा पर्छ । रामबाबुले निर्देशन गरेको यो फिल्मको स्क्रिप्ट उपेन्द्रले लेखेका थिए । ‘कबड्डी’ सिरिजका सबै फिल्मको कथा उपेन्द्रले नै लेखेका हुन् । यद्दपी, यसमा रामबाबुले पनि सहयाेग गर्दै आएका थिए ।

निर्देशक रामबाबुले बनाएको ‘कबड्डी’ सिरिजले बक्स अफिसमा ऐतिहासिक रेकर्ड बनाएको छ भने फिल्म ‘जारी’ बनाएर निर्देशकको रुपमा उदाएका उपेन्द्रको चर्चा पनि एकाएक चुलिएकाे छ । फिल्म ‘जारी’को जताततै ‘ब्लकबस्टर’ छापिएको छ । रामबाबु र उपेन्द्र मिलेर काम गर्दा राम्रै फलिफाप भएकाे देखिन्छ।

तर, यतिबेला यी दुई निर्देशकले छुट्टाछुट्टै प्रोजेक्ट बनाउनुका साथै फरक–फरक तवरले अगाडि बढाइरहेका छन् । जब उनीहरू फुटे र आफैँ-आफैँ फिल्म बनाए उनीहरू दुवैका फिल्म साेचेअनुरूप चलेनन् । रामबाबु र उपेन्द्र एउटै टिममा हुँदा बनेका उनीहरूका फिल्म ‘कबड्डी’ सिरिज र ‘जारी’ चले ।  दुवै मिलेर काम गर्दा उनीहरूका फिल्मले बक्स अफिसमा ऐतिहासिक रेकर्ड कलेक्सन गरे ।

रामबाबु र उपेन्द्र सँगै एउटै टिममै रहँदै उपेन्द्रले फिल्म ‘जारी’ निर्देशन गरे । यसको निर्मातामा रामबाबु गुरुङ थिए । ब्यानर ‘कबड्डी’ निर्माण भएकै थियो । फिल्म अपेक्षा गरेभन्दा पनि धेरै चल्न सफल भयो । यो फिल्म गत वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्यो । साढे तीन करोड रुपैयाँमा निर्माण भएको फिल्म ‘जारी’ले देशभित्रबाट मात्रै १७ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्‍यो । देशबाहिर पनि फिल्मको उल्लेख्य कमाइ थियो ।

तर, फिल्म ‘जारी’ रिलिज भएपछि भने उपेन्द्र र रामबाबुबिच तिक्तता सुरु भएकाे देखिन्छ । उनीहरुबीच फिल्मको व्यापारिक हिसाबलाई लिएर तिक्तता बढेकाे चर्चा फिल्मी क्षेत्रमा पाइन्छ ।

रामबाबुले निर्माण गरेको ‘डिग्री माइला’ मा उपेन्द्र संलग्न भएनन् । त्यसको पटकथा लेखनमा भने उनको योगदान थियो । डीग्री माइलाले औसत मात्रै व्यापार गरेर जेनतेन लगानी उठायो । उपेन्द्रको ‘मनसरा’मा चाहिँ रामबाबु आफ्नो ब्यानर बाँसुरी फिल्मस्का हिसाबले मात्रै संलग्न देखिए ।

हालको समयमा यी दुई मिल्ने साथीले एक अर्काको फिल्म रिलिज हुँदा सामाजिक सञ्जालमा शुभकामनासमेत दिँदैनन् । रामबाबुले अन्य फिल्मका निर्माता निर्देशकलाई सफलताको शुभकामना दिन्छन् । गत वैशाख २१ गते प्रदर्शनमा आएको फिल्म ‘मनसरा’को समयमा रामबाबुले ब्यानरका हिसाबले संलग्न देखिए पनि उपेन्द्रका लागि होस् या फिल्मका लागि कुनै शब्द खर्चिएनन् ।

यद्दपि, यस विषयमा रामबाबु र उपेन्द्र भने आफूहरुबीच मनमुटाव रहेको कुरालाई स्वीकार गर्दैनन् । उनीहरु बोल्दा र भन्ने गर्दा हामीबीच त्यस्तो कुनै खटपट र मनमुटाव छैन भन्ने गरेका छन् भने सर-सल्लाहमै आत्मनिरर्भर भएर काम गर्न थालेको बताउँछन् । विशेषगरी मिडियाले सोधेका प्रश्नमा यस्ता दुवैले यस्ता जवाफ दिने गरेका छन् ।

रामबाबु र उपेन्द्र अन्य फिल्मको कुनै पनि कार्यक्रममा भेटिए भने पनि बोल्ने गरेको देखिँदैन । यसले पनि उनीहरुबीच अहिलेसम्म पनि सम्बन्ध राम्राे नभएकाे बुझ्न सकिन्छ ।

छुट्टिदाँ फलिफाप नभएपछि रामबाबु र उपेन्द्र फेरि मिल्ने अवस्थामा पुगेको भन्ने चर्चा पनि फिल्मी क्षेत्रमा सुरु हुन थालेको छ । दुवैले आत्माआलोचना गर्दै फेरि मिल्ने अवस्थामा रहेको निकटस्थ सुनाउँछन् । हुन पनि दर्शकले यी दुई सँगै मिलेर फिल्म बनाइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट