विद्यार्थीलाई होमवर्कको भारी बोकाउनै पर्छ र ? -Sutra News

विद्यार्थीलाई होमवर्कको भारी बोकाउनै पर्छ र ? 

आइतबार, २७ जेष्ठ २०८१

आइतबार, २७ जेष्ठ २०८१

“जान्न स्कुल ! पिट्नु हुन्छ सरले । होमवर्क बाँकी छ !” राति बर्बरायो समिर ! बेचैन जस्तो देखिन्छ बिहानसम्म पनि । सानो परिवारको एक्लो छोरो हो ऊ । सबै माया खन्याएको छ उसैलाई । सरकारी जागिरे हुँ म । आमा उसकी गृहिणी मात्र । अफिस जाने र आउने समयको ठेगान हुन्न मेरो । कहिले छिटो, कहिले ढिलो । खासै समय दिन भ्याउँदिन छोरालाई ।



स्कुल जाने बेलामा पेट दुख्यो भनेर स्कुल गएन समीर धेरै पटक । डाक्टरकोमा पुर्‍याउँथी उसकी आमा । केही देखिँदैन भन्थे रे डाक्टरहरू आमालाई ! डाक्टरले उसकी आमालाई बच्चा अलि डराएको र निराश देखिन्छ भन्थे रे ! बच्चालाई कुनै टेन्सन छ भनी सोधेका थिए रे डाक्टरले । स्कुल जाने समय घर्के पछि सन्चो भो भन्छ सधैँ ।

अरु दिन जस्तै आज पनि खाना खान बोलाई आमाले ! झोला सुम्सुम्याएर बस्यो । यता र उता कपी मिलायो । हडबडायो अलि । आएन खाना खान । होमवर्क सकिएन कि क्या हो ? गाली गरी आमाले । हिजो के गरेर बसिस् ? सक्नु पर्दैन होमवर्क ? आमाले स्कुल गएर सर/म्यामहरूलाई होमवर्क भएन भने खेलेर बस्छ । मोबाइल चलाउँछ । होमवर्क धेरै दिनुस् भनेकी थिई रे एक दिन ।

मैले उसको झोला खोतले । सामाजिकको होमवर्क सकिएको रहेनछ । “सामाजिक होमवर्क बाँकी हो ?” सोधे प्रश्न ! टाउको हल्लायो, बोलेन । सामाजिक सर अलि कडा हुनुहुन्छ रे ! भ्याएनछ त्यही विषयको होमवर्क फेरि ! अलि अप्ठेरोमा पनि लाग्छ रे त्यो विषय । भन्दै थियो एक दिन । 

शिक्षा शास्त्रमा स्नातक भए पनि सरकारी अधिकृततिर नाम निकाले मैले । शिक्षातिर ध्यान गएन । मनमनै गमी; विद्यार्थीलाई होमवर्कको भारी बोकाउनै पर्छ ? साँच्चिकै होमवर्क धेरै दिनु पर्छ ? किताबको भारी र होमवर्कको भारीले पढाई सुध्रने हो त ? अनेक प्रश्न आए ।

हाम्रो पालामा विद्यार्थी भनेका गधा जस्तै हुन् । धेरै भारी बोकाउनु पर्छ भन्नु हुन्थ्यो । ठूलो भारी बोकाएको गधा मात्र सही बाटो हिँड्छ नभए अप्ठ्यारो बाटो खोज्छ भन्ने उखान सुनाउनु हुन्थ्यो सधैँ सरहरू ।

आज फेरि समयमा आएन समिर खाना खान ! आमाले बोलाउँदा फेरि उही पारा; झोला सुम्सुम्याएर बस्यो । खान खाऊभन्दा झन् असिन–पसिन देखियो ऊ । बेस्सरी गाली गरि उसकी आमाले । “के गरेर बसिस् हिजो ?” गल्ती उसैको देखाई । 

अचानक पेट दुख्यो भनेर कराउन लाग्यो । अरु दिन झै नजिकको क्लिनिकमा लगी उसकी आमाले । दिउँसो भएपछि सन्चो भो भन्यो रे ! अफिस पुगेपछि “समिरलाई कस्तो छ ?” भनेर फोनबाट सोधे मैले ।

भोलिपल्ट पनि स्कुल जान आनाकानी गर्‍यो । उसको मनमा कुरा खेलेको अनुमान लगाए मैले ! सरले हिजो किन नआएको भन्लान् ! पिट्लान् भन्ने डर थियो जस्तो लाग्यो ! “स्कुलमा बिरामी थियो भनेर फोन गरिदिनुस् नत्र जान्न ।” अँध्यारो मुख लगायो उसले ।

सोधेँ आफैले आफैलाई प्रश्न । टन्नै होमवर्क दिनुपर्छ विद्यार्थीलाई हरेक दिन ? होमवर्कको भारीले पढाइ सुध्रन्छ ? वास्तवमा एकाइ वा पाठका महत्वपूर्ण एक दुई वटा होमवर्क दिए पुग्दैन ? जीवनोपयोगी होमवर्क वा जीवनोपयोगी परियोजना कार्य दिए पुग्दैन ? कण्ठ गर्ने र केही समयपछि त्यसको औचित्य सकिने होमवर्कको के काम होला ? हप्तामा एक दिन होमवर्क ‘फ्री डे’ बनाउन नमिल्ने ? होमवर्कको बोझ र शिक्षकको कर्कसपूर्ण शिक्षणले स्कुल छुट्टी हुँदा विद्यार्थी खुसी मनाउँछन् । यसको कारण पहिचान गर्नु पर्दैन ?

स्कुल सजाय दिने ठाउँ बन्नु हुँदैन । विद्यार्थी घरबाट भागेर स्कुल जाने वातावरण किन बनाउन सकिएन ? कुट्नु र शारीरिक सजाय दिनुको सट्टा चित्र कोर्न वा कविता लेख्न वा दुई तीन पेज राम्रो अक्षर सारेर ल्याउन वा विद्यार्थीले जानेको घट्ना सुनाउन वा नाच्न–गाउन लगाए के हुँदो हो ? शिक्षकले सजायको प्रकृति परिवर्तन किन नगरेको होला ? हाम्रो शिक्षा प्रणालीमा यस्तो कुरा घुसाउन सकिएला ? अनेक कोणबाट प्रश्न उब्जे ! उत्तर भने थिएन मसँग !

वास्तवमा होमवर्कबाट विद्यार्थीले त्यस्ता ज्ञान र सीप सिकून् जुन उसको जीवनमा काम लागुन् ! व्यक्तिगत सरसफाइ गर्न सिकून् ! व्यवहारिक कुरा सिकून् ! कामै नलाग्ने होमवर्कको भारीको अर्थ छैन । प्रमाणपत्रमा राम्रो अंक खोज्नुको सट्टा जीवनोपयोगी ज्ञान–सीप अभिभावकले खोज्नुपर्छ । यो कुरा हाम्रो समाजले कहिले बुझ्ला ? शिक्षा प्रणाली र पाठ्यक्रमले यो कुरा कहिले समेट्ला ? मेरो समिरको जस्तै कथा व्यथा अरु केटाकेटीको होला कि नहोला ? जान्न मन भने लागिरह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट