काठमाडौं । नवीन चौहानको निर्देशनमा बन्ने फिल्म ‘ऊनको स्वीटर’को शुभ मुहूर्तसँगै छायांकन सुरु गरिएको छ।
पाँचथरको साधुटारबाट ३५ दिनको सेड्युल तय गर्दै छायांकन सुरु गरिएको निर्देशक चौहानले जानकारी दिए।
थुप्रै चर्चित गीतहरु पस्किसकेको आर्टमान्डूले निर्माण गर्न लागेको यो फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिकामा छन्। निर्माण पक्षले बताएअनुसार विपिन र मिरुना तीन दिनपछि छायांकनमा जोडिने छन्।
निर्देशक चौहानको पहिलो फिचर फिल्म रहेको ‘ऊनको स्वीटर’मा विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावतीलगायतको पनि अभिनय रहनेछ ।
फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन् भने सह-लेखन सुरज कटुवालले गरेका छन्। फिल्मलाई यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ।
फिरोज खड्का मुख्य सहायक निर्देशक रहेको फिल्मलाई चिन्तनराज भण्डारीले खिच्दैछन् । फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रको संगीत र रहनेछ । गीतमा हर्क साउदको शब्द रचना रहनेछ।
फिल्मको उपत्यका वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मस् र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसनको जिम्मा लिएको छ ।