काठमाडौं । “अलिकति पार्टी एक ढिक्का भइदिने हो भने, तपाईंहरु एक भएर समाजवादको तयारीको बाटो यही हो, हाम्रो विचार राजनीतिको कार्यदिशा यही हो, नेतृत्व पनि यही हो भन्ने कुरामा तपाईंहरु दृढ भइदिनुभयो भने पाँचै वर्ष यही सरकार जाने सम्भावना छ ।”
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा दिएको अभिव्यक्ति हो यो । यद्यपि, प्रचण्डको यो अभिव्यक्ति पहिलो पटक आएको भने होइन । उनले सार्वजनिकरुपमा पनि यस्ता भाषा प्रयोग गरिरहेका हुन्छन् ।
कांग्रेससँग सत्ता सहकार्य रहेकै बखत पनि प्रचण्डले यस्ता भाषा प्रयोग गर्ने गरेका थिए । तत्कालिन समय उनको यस्ता अभिव्यक्तिले सत्ता साझेदारभित्र विवादको अवस्था बनाएको थियो ।
तर, सत्ता समीकरण परिवर्तनसँगै भने प्रचण्डले यस्ता अभिव्यक्ति दिएका थिएनन् । नेकपा (एमाले)सँगको सत्ता समीकरण निर्माणसँगै प्रचण्ड केही दबाबमा रहेको विश्लेषण भइरहेको थियो । उनले सन्तुलित शैलीमा भनाइहरु राखिरहेका थिए ।
तर, पार्टीको बैठकलाई सम्बोधनका क्रममा उनले दिएको अभिव्यक्तिले उनी पाँचै वर्ष सरकारको नेतृत्व गर्ने अवस्थामा रहेको त होइन ? भन्ने प्रश्न उब्जाएको छ । उनको भाषाले वर्तमान सत्ता समीकरण उनको नेतृत्व अनुकुल बनेको पनि देखाउँछ ।
हुन पनि एमालेसँगको सत्ता समीकरण निर्माण हुँदै गर्दा २०८० फागुन २१ र फागुन २९ मा भएको बेग्ला–बेग्लै सहमतिमा सत्ता नेतृत्वको आलोपालोबारे कुनै कुरा उल्लेख छैन । फागुन २१ मा भएको ८ बुँदे सहमति र फागुन २९ मा (एकीकृत समाजवादीसहित) भएको ७ बुँदे सहमतिमा पनि “प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारलाई नै सुद्धढ र सफल पार्ने” भन्ने मात्रै उल्लेख छ ।
नेतृत्वको आलोपालोमा छैन छलफल
तत्कालिन समय सत्ता समीकरण हेरफेर हुँदै गर्दा दलहरुबीच नेतृत्वको आलोपालोको विषयमा छलफल हुन सकेन । माओवादी केन्द्रका सचिव दिनानाथ शर्माका अनुसार तत्कालिन समय आवश्यकताका आधारमा पछि छलफल गर्ने भन्ने सहमतिअनुसार दलहरु उक्त विषयमा नै प्रवेश गरेका थिएनन् ।
“कसरी अगाडि जाने भन्नेमा कुरामा सुरुमा कुनै छलफल भएन, तथापि सापेक्षतामा आधारमा त्यस्तो हुनसक्छ”, शर्माले भनेका छन्, “जुन समय सन्दर्भअनुसार छलफल होला, अहिले त्यस्तो किसिमको कुनै चर्चा परिचर्चा भएको छैन ।”
वर्तमान सत्ता समीकरणभित्र बन्ने सहमतिअनुसार सत्ता नेतृत्वकर्ताको विषयमा निर्णय हुने उनले बताए । “यो पाँचै वर्ष जान पनि जान सकिन्छ, नजान पनि सक्छ, त्यो सत्ता समीरकणभित्र हुने सहमतिका आधार तय हुन्छ, राजनीतिमा धेरै खालका सम्भावना हुन्छन्”, उनले भने ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराई पनि शर्माको भनाईमा सहमत देखिन्छन् । दलहरुबीच आलोपालो विषयमा कुनै छलफल नभएको तर्फ संकेत गर्दै उनले वर्तमान सत्ता समीकरण पाँचै वर्ष जाने बताए । “वर्तमान सत्ता समीकरण २०८४ सम्म नै जान्छ, यसमा कुनै तलमाथि हुँदैन”, सूत्रसँगको कुराकानीमा भट्टराईले भनेका छन् ।
यसकारण सुरक्षित छ प्रचण्ड नेतृत्व
अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमाथि संसदमा छलफल हुँदै गर्दा सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच सरकारको समीकरणलाई लिएर दोहोरी चल्यो । सदनबाटै कांग्रेसले ६/८ महिनापछि सरकारमा फेरि फर्किने सम्भावनालाई दर्शायो ।
“बजेटबारे बोल्न आउँदा म आफै कन्फ्युजमा छु, बोल्ने कसरी भनेर, यति धेरै उथलपुथल भएको यो संसद्मा ६/८ महिनापछि आफैंले काँध हाल्नु पर्ने हो कि ? आफ्नै बोली गलपासो हुने हो कि ?”, प्रस्तुत बजेटमाथि छलफलका क्रममा कांग्रेस महामन्त्री गगन कुमार थापाले भनेका थिए ।
बजेटका अन्तरवस्तुमा एमालेले असन्तुष्टि जनाइरहेको बेला कांग्रेसले यस्तो भाषा बोलेको हो । जसबारे एमालेले प्रतिवाद गरेपनि प्रतिवाद स्पष्ट छैन ।
हुन पनि आम निर्वाचन यता अनौठो गरी सत्ता समीकरण परिवर्तन भइरहेको छ । तर, सत्ता समीकरण परिवर्तन भइरहँदा पनि प्रचण्ड नेतृत्व सुरक्षित नै छ ।
कांग्रेससँग चुनावी गठबन्धन गरेका प्रचण्ड आम निर्वाचनपछि २०७९ पुस १० गते एमालेसँग सहमति गर्दै प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, बालकोट सहमतिका आधारमा प्रधानमन्त्री बनेका प्रचण्डले लगत्तै एमालेसँगको सहमति तोडे । राष्ट्रपतिको निर्वाचनसँगै प्रचण्डले कांग्रेससँग सहकार्य बढाएका थिए ।
यद्यपि, कांग्रेससँगको सहकार्य पनि एक वर्ष पनि टिकेन । गत २०८० फागुन २१ मा कांग्रेसलाई थाहै नदिइ प्रचण्डले एमालेलगायतसँगै सत्ता समीकरण हेरफेर गर्ने सहमति गरेका थिए । त्यसयता प्रचण्ड एमालेसँगको सहकार्यमा सत्ताको नेतृत्वमा छन् ।
डेढ वर्षको बीचमा प्रचण्डले तीन पटक सत्ता समीकरण हेरफेर गरिसकेका छन् । समीकरण फेरबदल गरिरहने प्रचण्डले सत्तामा ‘उथलपुथल’ भइरहने सम्भावनालाई पनि खुला रुपमा दर्शाएका छन् ।
“म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ, माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो”, कांग्रेससँगकाे सत्ता समीकरण परिवर्तन लगत्तै प्रचण्डले सार्वजनिकरुपमा भनेका थिए, “देशका लागि म अनुमान गर्न नसकिने छैन र प्रतिक्रियावादीले उपयोग गर्न खोज्छ भने म कुनै पनि वेला लात्ताले हानेर निस्कन सक्छु ।”
प्रचण्डको अभिव्यक्तिलाई हेर्दा, उनी आफ्नो नेतृत्व जोगाउन जस्तोसुकै ‘उथलपुथल’ ल्याउन सक्छन् । हुन पनि मुख्य प्रतिस्पर्धी पार्टीहरु कांग्रेस र एमालेबीच सहकार्यको अवस्था नबन्दा तेस्रो शक्तिको रुपमा रहेको प्रचण्डलाई गणीतले सहजता बनाइरहेको छ । एमालेले छाड्दा कांग्रेसले सघाउने र कांग्रेसले छाड्दा एमालेले सघाउने परिस्थिति देखिन्छ । जुन परिस्थितिका बीच प्रचण्ड नेतृत्व जाेगिरहने सम्भावना अधिक छ ।
वामपन्थी राजनीतिज्ञ मुकुन्द आचार्य परिस्थिति प्रचण्ड अनुकुल रहेको बताउँछन् । “न एमाले–कांग्रेसबीच सत्ता सहकार्य हुन सक्ने न त प्रचण्डबाहेकको समीकरण निर्माण हुनसक्ने”, आचार्यले भनेका छन्, “यो परिस्थितिले प्रचण्डलाई बलशाली बनाएको छ, पाँचै वर्ष यही शैलीमा नै रहिरहने अवस्था पनि धेरै देखिन्छ ।”