काठमाडौं । टी २० विश्वकपमा आज सर्वाधिक चर्चा हुने दुई टोली पाकिस्तान र भारतबीच भिडन्त हुँदै छ । यी दुई छिमेकी देश जब क्रिकेट मैदानमा उत्रिन्छ, तब कसले बाजी मार्ला भन्ने चर्चा सुरु हुन्छ ।
राजनीतिक शत्रुका रुपमा सधैँ विवाद हुने यी दुई देशको क्रिकेटलाई पनि राजनीतिक रुपमा जोड्ने गरिन्छ । जसका कारण खेललाई हारजितभन्दा राजनीतिक विश्लेषण गरेर हेरेको पाइन्छ ।
अमेरिका र वेष्ट इण्डिजमा जारी नवौँ संस्करणको टी २० विश्वकपमा पनि यस्तै हुने भएको छ । यी दुई देश आइतबार साँझ भिड्ने भएसँगै विश्वभर चर्चा भइरहेको छ । समूह ‘ए’मा रहेको पाकिस्तान र भारतको खेलअघि खेलाडीदेखि टिकटसम्म चर्चा भइरहेको छ ।
अमेरिकाको न्युयोर्कस्थित नासाउ इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेलको टिकट प्रतियोगिताकै सबैभन्दा महंगो भन्दै सुरुदेखि नै चर्चा भएको थियो । यस्तै, यी दुई देशमध्ये कसको जित होला भन्दै बहस चलेको थियो ।
राजनीतिक कारणले लामो समयदेखि दुई देशबीच खेल हुन नसकेको अवस्थामा विश्वकपमा भेट भएसँगै चर्चा भएको हो । त्यसैले क्रिकेट मन नपराउने व्यक्ति पनि यो खेल हेर्न उत्सुक छन् ।
खेलमा भारतले पाकिस्तानसँग हार्न चाहँदैन । पाकिस्तान पनि भारतसँग हार बेहोर्न चाहँदैन । त्यसैले यो खेल देशको प्रतिष्ठा हो भन्ने कुरा भारत र पाकिस्तानले बुझेका हुन्छन् ।
दुई देशबीच प्रतिष्ठाको लडाइँ भएकाले विश्वकप हारे पनि यो खेल जित्नु आवश्यक ठान्छन्, उनीहरू । तर, यसअघि भएका कूल १२ टी २० खेलमा पाकिस्तान कमजोर देखिएको छ । जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ । पाकिस्तानले ३ खेलमा मात्रै जित निकाल्न सकेको छ ।
टी २० विश्वकपमा अहिलेसम्म सात पटक आमने सामने हुँदा भारतले पाँच पटक जितेको छ । पाकिस्तानले एक पटक जित्दा एक खेल अनिर्णित बनेको थियो ।
टिकटको चर्चा
यी दुई देशको खेल हेर्नका लागि आईसीसीले टिकटको मूल्य सबैभन्दा मंहगो कायम गरेको थियो । आईसीसीले एउटा टिकटको मूल्य न्यूनतम तीन सय डलर अर्थात ४० हजार नेपाली रुपैयाँ तोकेको थियो ।
यसबाहेक महँगो दरका प्रिमियम टिकट पनि उपलब्ध गराएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ । महंगो दरको टिकटको मूल्य १५०० डलरदेखि १० हजार डलरसम्म राखिएको छ । अर्थात दुई लाखदेखि १३ लाख ३० हजार रुपैयाँसम्म कायम गरेको छ ।
समाचारमा जनाइएअनुसार टिकट रिसेल गर्ने वेबसाइटले यी दुई देशको खेल हेर्न टिकटको मूल्य बढाएर १७ हजार ४७५ डलरसम्ममा बेचिरहेको जनाएको छ । यसो हुँदा एउटा टिकटको मूल्य २४ लाख रुपैयाँसम्म पर्न सक्ने छ ।
आज पाकिस्तान र भारतबीच खेल हुने मैदानमा ३४ हजार दर्शक क्षमता रहेको छ । उक्त मैदानमा भारतले एक खेल खेल्दै आयरल्याण्डलाई पराजित गरेको थियो । पाकिस्तानले भने पहिलो खेलमा पराजित भएको छ । एजेन्सी