काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिएका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपतिले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाएका छन् । छिमेकी राष्ट्रका सरकार प्रमुखमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी भएका छन् ।