काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै दिउँसो १ बजेदेखि १ः३० बजेसम्म विमानस्थल बन्द हुने जनाएको हो ।
कार्यालयका अनुसार अपरान्ह १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धरसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल संकलकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासहरूमध्ये अलर्ट ९.३१ (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यास हुनेछ ।
यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्यांकन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुरु गराउने रहेको नागरिक उड्डययन कार्यालयले जनाएको छ ।
यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुँवाका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको पनि देख्न सकिने प्राधिकरणले जनाएको छ ।
‘अभ्यासको क्रममा स्थानीय समय १३ देखि १३:३० बजेसम्म यस विमानस्थलको अपरेशन बन्द हुने भएकोले नियमित उडान र अवतरण प्रभावित हुन सक्ने छन्,’ सूचनामा भनिएको छ, ‘ विमानस्थल संकटकालिन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा यस विमानस्थलको एबिल अनुसार गरिने योजनाबद्ध अभ्यास भएको व्यहोरा सर्वसाधारण तथा खास गरी विमानस्थल वरिपरिका बासिन्दाहरुलाई सुचित गराउन चाहन्छौँ ।’