काठमाडौं । आम निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच बनेको सत्ता सहकार्य तीन महिना पनि टिक्न सकेन । २०७९ पुस १० मा सत्ता सहकार्य गर्ने सहमतिमा पुगेका एमाले र माओवादी केन्द्र फागुन १५ मा अलग–अलग भएका थिए । एमाले बाहिरिएपछि नेपाली कांग्रेस सरकारमा भित्रिएको थियो ।
तत्कालिन समय सत्ता गठबन्धन भङ्ग हुनुको मुख्य कारणमा संसद विघटनको विषय थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै आफ्नो कदम संविधान सम्मत भएको पुष्टाइँ गर्ने प्रर्यत्न गरेपछि सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र झस्किएको थियो । माओवादी केन्द्रले ओलीको उक्त अभिव्यक्तिमाथि आपत्ति मात्रै जनाएको थिएन, स्वीकार गर्न नसकिने पनि बताएकाे थियाे ।
एमाले–माओवादी केन्द्रबीच गठबन्धन भङ्ग भएपछि पहिलो पटक २०७९ चैत ६ मा बसेको संसद बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन भङ्ग हुनुको पछाडि एमाले अध्यक्ष ओलीले संसद विघटनकाे कदमलाई गर्न खोजेको पुष्ट्याइँ मुख्य कारण भएको बताएका थिए ।
“संसदको पहिलो दिन नै संसद विघटनको विषयले प्रवेश पायो र सिंगो देश अत्यन्त तरंगित बन्यो”, संसद बैठकलाई सम्बोधनका क्रममा प्रचण्डले भनेका थिए, “देशमा ठूलो संवैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय थिएन, दुई/दुई पटक सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको विषयको प्रवेशले गठबन्धनभित्र अविश्वास मात्रै बढाएन संविधान र लोकतन्त्रमाथि नै प्रश्न उब्जायो, मैंले दुःखका साथ भन्नुपर्छ, मलाई संसद विघटनको पक्षपोषणले ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौति दियो ।”
तत्कालिन समय संसद विघटन सही थियो भन्ने स्थापित गराउने ओलीको प्रर्यत्नका बीच सत्ता समीकरण फेरबदल भएको थियो । यद्यपि, ओलीविरोधी उक्त समीकरण पनि लामो समय भने टिक्न सकेन ।
संसद विघटनको विषयलाई लिएर छुट्टिएको एमाले–माओवादी केन्द्र अहिले फेरि सत्ता सहकार्यमा जाेडिएका छन् । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको सम्मुखमा २०८० फागुन २१ मा भएको सहमतिसँगै एमाले–माओवादी केन्द्र सत्ता सहकार्यमा जाेडिएका थिए ।
तर, तत्कालिन समय सत्ता सहकार्य टुटेको संसद विघटनको विषय फेरि सतहमा देखिन थालेको छ । एमाले अध्यक्ष ओलीले उक्त कदमलाई सही थियो भन्ने पुष्ट्याइँ सत्तामा रहँदै गर्न थालेका छन् ।
शनिबार एमाले काठमाडौं जिल्ला कमिटीको अधिवेशन उद्घाटन सत्रलाई सम्बोधनका क्रममा ओलीले तत्कालिन समय एमाले जोगाउन उक्त कदम चालेको बताए । जुन सबै हिसाबले सही थियो भन्ने दाबी ओलीको छ ।
“कसरी सरकार ढाल्ने भनेको छ, विपक्षीलाई प्रधानमन्त्री बनाउन कुदेको छ, अदालतमा गएको छ, त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए, आज एमाले भन्न पाउँदैनथ्यौं, यो अन्तै लगेर बुझाइसक्या हुन्थ्यो”, अधिवेशनलाई सम्बोधनका क्रममा ओलीले भनेका छन्, “महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियत मात्रै होइन, मजबुद हैसियतमा पुर्याएको छ, सबैभन्दा ठूलो पार्टी बनाएको छ, उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नुभएन, यस्तो तामासा दुनियामा कहिँ हुन्छ ?”
संसद विघटनकै घटनाका बीच तत्कालिन समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित बनेको थियो । सर्वाेच्च अदालतको फैसलामार्फत नेकपा विघटन हुँदै एमाले र माओवादी केन्द्र पुनः ब्यूँतिएका थिए । जुन घटनाक्रमकै बीच एमालेबाटै फुटेर एकीकृत समाजवादी जन्मिएको थियो ।
अहिले तीनै दल सत्तामा छन् । तीनै दल सत्तामा रहिरहेको बेला एमाले अध्यक्ष ओलीले संसद विघटनबारे दुवैलाई बिच्क्याउने गरी अभिव्यक्ति दिन थालेका छन् ।
वामपन्थी राजनीतिज्ञ मुकुन्द आचार्य संसद विघटन पुष्ट्याईँ गर्न खोज्ने ओली अभिव्यक्ति पार्टीभित्र र सत्ता समीकरणभित्र हाबी हुने रणनीतिबाट आएको बताउँछन् । बाध्यात्मक समीकरण भएको कारण जे बोलेपनि समस्या नहुने भन्ने बुझाईमा ओली रहेको आचार्यको भनाई छ ।
“ओली निकै आत्मरतिमा रमाउने नेता हुन्, अहिलेको सत्ता समीकरण बाध्यात्मक र अप्ठ्यारो परिस्थितिमा छ, उनलाई यही बेला आफूलाई सही सावित गराउन सक्छु कि भन्ने लागेको छ”, आचार्यले भनेका छन्, “एकातिर गठबन्धनभित्र हाबी हुन पाइने र अर्कोतिर पार्टीभित्र पनि विरोधीलाई किनारा लगाउन सकिने भन्ने कोणबाट उनले अभिव्यक्ति दिएका हुन् ।”
कांग्रेसले सत्तामा फर्किन राखेको चाहनाका बीच ओलीले दिएको अभिव्यक्तिले समस्या भने सिर्जना गर्न सक्ने अनुमान आचार्यकाे छ । आचार्य ओलीकै कारण ‘२०७९ फागुन १५’ को घटना दोहोरिन सक्ने पनि सम्भावना उत्तिकै भएको बताउँछन् ।
“कांग्रेसले ‘रिलाइजेसन’ गरे झैं फेरि सत्तामा फर्किन सकिन्छ कि भनेर बोलेको छ, कांग्रेसभित्रबाट प्रचण्डलाई बिच्क्याउने गरी धारणा पनि आइरहेका छैनन्”, आचार्यले भनेका छन्, “अस्थिर राजनीतिक घटनाक्रमका बीच २०७९ फागुन १५ मा जस्तै फेरि ओली सत्ता बाहिर पुग्दैनन् भन्न सकिन्न ।”