सन्दीपको पक्षमा ताली बज्दा, पारसको विरुद्ध किन भयो गाली ?-Sutra News

सन्दीपको पक्षमा ताली बज्दा, पारसको विरुद्ध किन भयो गाली ?

सोमबार, २८ जेष्ठ २०८१

सोमबार, २८ जेष्ठ २०८१

काठमाडौं । नेपाली क्रिक्रेट टोली अहिले अमेरिकामा छ । अमेरिका र वेष्ट इण्डिजमा जारी आईसीसी टी २० विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका १५ खेलाडी र १० जना पदाधिकारीलाई अमेरिका पठाएको हो ।



नेपाली टोली एक महिनाअघि अमेरिका जाँदै गर्दा खेलप्रेमीहरू सन्दीप लामिछानेको विषयमा आक्रोशित बने । त्यतिबेला पूर्वकप्तान तथा लेग स्पिनर लामिछानेविरुद्ध गौशाला २६ लाई बलात्कार गरेको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा थियो ।

वैशाख २३ गते नेपाली टोली अमेरिका गएसँगै सन्दीपलाई क्रिक्रट खेल्न रोकेको भन्दै उनका समर्थनहरुले क्यानमाथि गम्भिर आरोप लगाए । सन्दीपको पक्षमा सडकदेखि संसदसम्म आवाज उठाए ।

यस अवस्थामा सन्दीपको पक्षमा देशमा ठूला नेताहरुले सदनमा क्रिकेट खेल्न पठाउनु पर्ने माग राख्दै बोलिरहँदा सडकमा विभिन्न आन्दोलन भइरहेको थियो । सडकदेखि सदनसम्म उनको पक्षमा आवाज उठेपछि उच्च अदालत पाटनले जेठ २ गतेको फैसलामा सन्दीपले सफाइ पाए ।

अदालतबाट सन्दीपले सफाइ पाएको केही घण्टामा क्यानले उनलाई अमेरिका पठाउन भन्दै निलम्बन फुकुवा गरी आईसीसीसँग छलफल गरेको थियो । सन्दीपलाई विश्वकप खेलाउनका लागि आईसीसीले क्यानले भनेबमोजिम सबै प्रस्ताव स्वीकार गरे । तर, अमेरिकाले भिसा दिन अस्वीकार गरिदियो ।

अमेरिकामा भइरहेको विश्वकप खेल्नका लागि सन्दीपले पटक–पटक नेपालस्थित अमेरिकी दूताबासमा अन्तर्वार्ता दिए । यसका लागि नेपाल सरकारले अमेरिकालाई गर्न सक्ने सबै प्रस्ताव राखेको थियो । तर, अमेरिकाले कुनै पनि अवस्थामा भिसा नदिने गरी निर्णय गरिदियो ।

अन्ततः सन्दीपलाई विश्वकप खेलाउने क्यानको चाहना अधुरो हुने निश्चित बन्दै थियो । अमेरिकाले भिसा नदिएपछि सन्दीपको पक्षमा पुनः उनका समर्थकहरु अमेरिकाको दूताबास घेराउन गर्न पुगे । देशकै ठूलो दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दीपलाई विश्वकप खेलाउन माग गर्दै सदनमा माग राखे ।

यसैबीच सोमबार बिहानै क्यानले सन्दीप विश्वकप खेल्न आयोजक राष्ट्र वेष्ट इण्डिज पुगेको जानकारी गरायो । ‘जारी आईसीसी टी २० विश्वकपमा २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेष्ट इण्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ,’ क्यानले भनेको छ ।

यस क्रममा क्यानले सन्दीपको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नभएको स्पष्ट पारेको छ । ‘अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नगाली, नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको हाम्रो नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न यहाँको आफ्नो क्षमताले भ्याएसम्म ससाना भए पनि सकारात्मक टिप्पणीसहित प्रसाय र पहल गरिदिनुहुने हार्दिक आह्वान गर्न चाहन्छौँ,’ क्यानले भनेको छ ।

क्यानले सन्दीप वेष्ट इण्डिज पुगेपछि मात्रै यसबारे जानकारी दिएको थियो । क्यानले आधिकारिक घोषणा गरेपछि सन्दीप आफैले देश र समर्थकसहित आफ्नो सपना पूरा भएको बताएका थिए ।

विवादमा फस्दै पारस

नेपाली टोलीका पूर्वकप्तानसमेत रहेका क्यानका सचिव पारस खड्का विवादमा फस्दै गएका छन् । सन्दीपलाई विश्वकप खेल्न रोक्न लागेको भन्दै उनीमाथि आरोप लागेको थियो । आफूमाथि गम्भीर आरोप लागेपछि उनले खण्डन गरेका थिए ।

यसैबीच विश्वकप हेर्न जानका लागि एक वडाध्यक्षलाई क्यानको दुरुपयोग गरी प्रस्ताव गरेको उनीमाथि आरोप लागेको थियो ।

आफूमाथि अनेक आरोप लागिरहँदा सचिव खड्काले संघकै सदस्यले नेपाली क्रिकेट र आफूलाई बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाए । सोमबार सामाजिक सञ्जालमार्फत उनले क्यानका केही सदस्यहरु पदाधिकारी र नेपाली क्रिकेटलाई बदनाम गराउन लागेको भन्दै दुःख व्यक्त गरे ।

उनले कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपूर्ण रहेको बताएका छन् ।

‘संघका अध्यक्ष, सचिवलगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्यसहित संघभित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैंमा दुःखद हो,’ उनले भने ।

विवाद र समस्याले घेरिरहेको नेपाली टोलीले जारी विश्वकपमा पहिलो खेल गुमाएको छ । नेपालले अब श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्दै छ । यसबीच छताछुल्ल हुने गरी देखिएको विवादले खेलाडीलाई प्रभाव पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट