काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले ३१ सांसदको विश्वासको मत पाएका हुन् ।
पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २, राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणीन्द्र देवकोटाले मतदान गरेका थिए ।
प्रदेशसभामा माओवादी संसदीय दलका देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस’ गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिए । प्रस्तावको विपक्षीमा नेकपा एमाले २२ र माओवादीका ६ सांसदले हस्ताक्षर गरे ।
नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा (३) अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।