काठमाडौं । यही शुक्रबारदेखि देशभरका हलमा घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ प्रदर्शनमा आएको छ । यो फिल्मको व्यापार कमजोर अवस्थामा छ । अझ भनौँ सुरुवाती दिनदेखि ओरालो लाग्दो अवस्थामा देखिन्छ ।
फिल्म प्रदर्शनमा आएसँगै यसका मुख्य नायकको मात्रै प्रशंसा भइरहेको छ । यस फिल्मबाट अभिनय क्षेत्रले अर्को नयाँ अनुहार पाएको छ । फिल्मले बक्स अफिसमा सशक्त प्रदर्शन गर्न नसके पनि डेब्यु नायक निश्चल खड्काले अभिनयमा राम्रो सम्भावना देखाएका छन् ।
लण्डन बस्ने युवकको भूमिका निर्वाह गरेका निश्चलले पहिलो फिल्ममै केही हदसम्म सम्झन लायक काम गरेका छन् । एक हिसाबमा फिल्मको व्यापार ओरालो लागे पनि उनको करियर उकालो लागेको देखिन्छ ।
निश्चलको अभिनय, संवाद बोल्ने शैली र आवाजको चौतर्फी तारिफ भइरहेको छ । त्यतिमात्र हैन नेपाली फिल्म क्षेत्रले एक रोमान्टिक नायकको रुपमा अर्को नयाँ अनुहार पाएको भन्दै निश्चलको चर्चा भइरहेको छ ।
यतिबेला लाइमलाइटमा रहेका निश्चल यो फिल्ममा अर्का नायक कवीर खड्कामार्फत जोडिएका थिए । उनले ‘लण्डन टु पेरिस’ अघि थुप्रै फिल्मका लागि अडिसन दिएका थिए । सानैदेखि हिरो बन्छु भनेर हिँडेका निश्चल अहिले दर्शकहरुको तारिफबाट मख्छ छन् । केही हलमा त दर्शकहरुले उनको नामको नाराबाजी गर्दै अबको हिरो भन्न भ्याए ।
विशेषगरी लामो संवाद पनि उनले सहज रुपमै उच्चारण गरेको भन्दै निश्चलको ‘डाइलग डेलिभरी’ दर्शकहरु फ्यान भएका हुन् । जसरी उनलाई दर्शकहरुले रुचाइरहेका छन्, यसरी हेर्दा उनी मेकरहरुको रोजाईमा पर्न सक्ने सम्भावना स्पष्ट छ ।
यही फिल्मको सुटिङका क्रममा उनले आफ्नी आमा गुमाएका थिए । नेपालमा आमालाई गुमाएका उनी लण्डनमा फिल्मको तेस्रो दिनको छायांकन भइरहेको थियो । सोही दिन पनि निश्चलले सुटिङमा व्यस्त थिए ।
उक्त फिल्मको दुई चरणमा छायांकन गरिएको थियो । जसलाई पूरा गर्न करिब दुई वर्ष लागेको थियो । यो छायांकन पूरा भएसँगै उनले हिन्दु परम्पराअनुसार गरिने आमाको १३ दिनको काम गरेका थिए ।
ट्राभल लभ स्टोरीको कथा पेस गर्ने फिल्ममा निश्चलसँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का र गरिमा शर्माको प्रमुख भूमिका छ । जहाँ निश्चलको जोडी अभिनेत्री साम्राज्ञीसँग बाँधिएको छ ।