काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’ आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यस फिल्मको मुख्य भूमिकामा नायिका तथा निर्मात्री नीता ढुंगाना हरिहर अधिकारी, विपना थापा, संचिता लुइँटेल, गरिमा शर्मा लगायतका कलाकार छन् । साथै फिल्ममा दक्षिण भारतीय चर्चित कलाकारहरु ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको पनि मुख्य भूमिका छ ।
नायिका नीताले नै निर्माण यस फिल्मको थप नयाँ कमर्सियल पोस्टर सार्वजनिक भएको छ । करिब पाँच वर्ष पछि पर्दामा देखिन लागेकी फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ । झट्ट हेर्दा नीतालाई रावणको अवतार जस्तै देखाइएको छ । पोस्टरमा नीतासँगै अन्य ६ जना कलाकारको टाउको जोडिएको छ । जसमा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ-आफ्नो चरित्रमा देख्न सकिन्छ ।
यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । नेपाली फिल्म क्षेत्रमा द्धन्द्व निर्देशकको रुपमा स्थापित रहेका पन्तको यो डेव्यु निर्देशकिय नेपाली फिल्म हो । उनले यसअघि केही भोजपुरी फिल्मको निर्देशन गरीसकेका छन् ।
हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायांकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचेका छन् ।
फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । फिल्ममा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।