काठमाडौं । काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति दुर्घटना भएको हो । रूपन्देहीको सैनामैना नगरपालिका १० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।
घाइतेलाई चौराहा अस्पताल बुटवल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा आइतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन् । अन्य २४ जनाको उपचार जारी छ ।
बसका सहचालक गम्भीर घाइते छन् । उनको पहिचान खुल्न सकेको छैन।