काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ । उच्च बिन्दुमा पुगेर घटेको सुनको मूल्य केही दिनदेखि स्थिर थियो । साताको चौथो कारोबार दिन (बुधबार) भने मूल्य बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार छ सय रुपैयाँ कायम भएको छ ।
स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । शुक्रबार तोलाकै एक लाख ४५ हजार रुपैयाँ पुगेको सुनको मूल्य आइतबार भने ह्वात्तै घट्दै तोलाको एक लाख ४१ हजार रुपैयाँ कायम भएको थियो । त्यसयता भने सुनको मूल्य स्थिर थियो ।
सुनको मूल्य बढेसँगै बुधबार चाँदीको मूल्य पनि बढेको छ । स्थानीय बजारमा अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले बढ्दै चाँदी प्रतितोला एक हजार आठ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा मूल्यमा भइरहेको घटबढको प्रभाव स्थानीय बजारमा परेको हो । सँगै बजेटसँगै भन्सार दर बृद्धिले पनि मूल्य बढेको सुनचाँदी महासंघले जनाएको छ ।