काठमाडाैं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले उश्रृंङखल दोहोरी गाएको भन्दै १२ जनासँग स्पष्टीकरण मागेकोमा ९ जनाले गल्ती स्वीकार गरेका छन्।
प्रतिष्ठानले भड्किला लोक तथा लोकदोहोरी गीत गाउने १२ कलाकारलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुलाई प्रतिष्ठानले केही दिनअघि अपाच्य शब्द र प्रस्तुतिमार्फत लोक तथा लोकदोहारी गीतमा विकृति भित्र्याएको भन्दै स्पष्टीकरण सोधेको हो ।
जसमध्ये तीन जना कलाकारले स्पष्टीकरणको जवाफ दिएका छैनन् । एक साताको स्पष्टीकरणको म्याद बिहीबार सकिंदैछ ।
प्रतिष्ठानका अनुसार सागर बीसी, तारा थापा, सीताराम परियार, नवराज काप्री (धादिङे भाले), शर्मिला रायमाझी, सुशीला लामा, शंकर सुनार, सलिना नेपाली, विशाल सोनी, गोपाल जीसी, नवीना सिलवाल(खुइली) र रिया खड्कालाई प्रतिष्ठानले स्पष्टीकरण सोधेको हो । यसमध्ये नौ जनाले प्रतिष्ठानलाई लिखित स्पष्टीकरण बुझाइसकेका छन् । जसमा उनीहरूले गल्ती भएको भन्दै आगामी दिनमा यस्तो कमजोरी नदोहोर्याउने बताएका छन् ।
स्पष्टीकरण नबुझाउनेमा गोपाल जीसी, नवीना शिलवाल र रिया खड्का छन् । उनीहरूलाई भने अझै केही दिन कुर्ने र के गर्ने भन्ने निर्णयमा पुग्ने प्रतिष्ठानले जनाएको छ । बालचन्द्र बराललाई प्रतिष्ठानले यसअघि नै कारबाही गरिसकेको छ । बराल प्रतिष्ठानका इलेक्टेड केन्द्रीय सदस्य हुन् । उनलाई ६ महिना साधारण सदस्यसमेत नरहनेगरी प्रतिष्ठानले कारबाही गरेको हो ।
अग्रज लोक तथा लोकदोहोरी गायकगायिका इन्द्र जीसी र शिला आले पनि अपाच्य शब्द र शैलीमा गीत गाउने कलाकार हुन् । उनीहरूलाई पनि प्रतिष्ठानले सचेत गराएको छ ।
प्रतिष्ठानले लोकदोहोरी गीतमा विकृति भित्र्याएको भन्दै स्पष्टीकरण मागेका कलाकारले गल्ती रियलाइज नगरे प्रहरी प्रशानसनलाई कारबाहीका लागि अनुरोध गर्ने भएको छ । संस्थाका केन्द्रीय सदस्य गायक बालचन्द्र बराललाई ६ महिनाका लागि संस्थाबाट निलम्बन समेत गरेको थियो । केही दिन अगाडि प्रतिष्ठानकी अध्यक्ष रीता थापा, पूर्वअध्यक्ष बद्री पंगेनीलगायतले गृहमन्त्री रवि लामिछानेलाई भेटेर यसविषयमा जानकारी गराएका थिए ।
लाइभ लोकदोहोरी गाउनेले विशेषगरी अपाच्य शब्द र प्रस्तुति प्रस्तुत गर्दै आएको प्रतिष्ठानको आरोप छ ।