गत आइतबार भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ खाँदै गर्दा सोही दिन उही मोदीले नै गत फेब्रुअरीमा उद्घाटन गरेको आबुधाबी स्थित ब्यापस् हिन्दु मन्दिर दर्शन गर्ने अवसर मिल्यो । यो मन्दिर मिडल इस्टकै सबैभन्दा ठूलो मन्दिर हो । सन् २०१५ मा मोदीको भ्रमणसँगै मन्दिरका लागि उक्त जग्गा आबुधाबीका शेख मोहम्मदले दान दिएका थिए । सन् २०१९ देखि शिलान्यासको काम सुरुवात गरे पनि बिचमा कोरोनाका कारण छिटै तयार हुन सकेको थिएन । यही सन् २०२४ फेब्रुअरीदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको हाे ।
दर्शन गर्ने पहिलो प्रवेश द्वार निकै चुस्त–दुरुस्त र सफा छ । कहीँ कतै फोहोर देखिँदैन, सेक्युरिटी चेक जाँचपछि भित्र पसेपश्चात जब सिँढी उक्लिन थालिन्छ, त्यों टायल्सको सिँढीमाथि खुट्टा टेक्दा यस्तो गर्मीमा तातो पोलेको महसूस नै हुन्न । सायद त्यो टायल्सको ‘खासियत’ हो । यूएईमा अत्यधिक गर्मी हुने भएका कारण दर्शनार्थीलाई गर्मी नहोस् भन्नका लागि यस्तो व्यवस्था गरिएको होला ।
आँखाले वरिपरि मज्जाले देखिन सकिने मन्दिर करिब ५.४ हेक्टर क्षेत्रफलमा फैलिएको र यसको लागत करिब चार सय मिलियन दिराम अनुमान छ । भित्र पस्नासाथ विभिन्न देवी देवता अंकित भगवान राम, सीता, लक्ष्मी, शिव, गणेशलगायतका मूर्ति देख्न सकिन्छ । हरेक स्तम्भमा हिन्दु धर्म ग्रन्थ र प्रतीक बुट्टाहरू कुँदिएका छन् । सेतो इटालियन सिंघमर्मरले बनेका उक्त बुट्टाहरू हेर्दा नै मन आनन्द महसूस हुने गर्दछ ।
मन्दिर वरिपरका स्तम्भहरु हेर्दै गर्दा बिभिन्न वैदिक वास्तुकलाको अत्याधिक प्रयोग देख्न सकिन्छ । जहाँ धार्मिक, सांस्कृतिक सभ्यताको चित्रणले मन्दिरलाई थप शोभायमान देखाउन मद्दत पुगेको छ । स्तम्भमा भारतीय राजस्थानी, गुजराती शिल्पीका साथै एज्टेक, मिश्र, यूरोप, चीन, मेसोपोटामियन लगायत अफ्रिकाको समेत कथा कला संस्कृति कुँदिएको प्रस्ट हुन्छ । टाढाबाट हेर्दा मन्दिर पिरामिड शैलीमा देखिन्छ ।
यस्तो गर्मीमा समेत परिसरभित्र चिसो महसूस हुने गर्दछ । गर्मी प्रतिरोध नैनो टायल्सको प्रयोगका साथै सिसाको प्रयोग छ, अचम्म त के छ भने त्यहाँ कुनै पनि धातुको प्रयोग नै छैनभन्दा हुन्छ । मन्दिर वरिपरि प्रसस्त पार्किङ सुविधा हुनुका साथै खेलमैदान बगैंचा, सांस्कृतिक प्रार्थना हल, पुस्तकालय समेत उपलब्ध छ ।
अझ यो मन्दिरको रोचक पक्ष, मन्दिरका वास्तुकार क्याथोलिक इसाई, प्रोजेक्ट मेनेजर सिख, फाउन्डेसन डिजाइनर बौद्ध, कन्स्ट्रक्सन कम्पनी पारसी, डाइरेक्टर जैन हुन् र जसले जग्गा दान दिए उनी मुस्लिम हुन् । अनौठो मिश्रण रहेको हिन्दु मन्दिरले धार्मिक सहिष्णुताको पनि बोल्दछ ।
यस मन्दिरमा वास्तुशिल्पका अलावा भूकम्प प्रतिरोध मापनको प्रयोग गरिएको छ । परिसरभित्र ३०० भन्दा बढी सेन्सर प्रयोग छ, जसले तापमान, भूकम्प दबाब, गतिको मापन गर्ने गर्दछ । २० हजार टनभन्दा बढी बालुवा, ढुङ्गा, १८ लाख इँटा प्रयोग र सात राज्यको सात वटा चुचुरा हुनुका साथ यसको लम्बाई २६२ फीट, चौडाई १८० फीट र ऊचाई १०८ फीट रहेछ । जहाँ वरपर ९६ वटाभन्दा बढी घण्टी झुन्डिएको छ ।
मन्दिर प्रवेशद्वारमै आठ मूर्तिले सनातन धर्मको आठ मूल्यका प्रतीक देखाउँछ । मन्दिरको ‘एम्फीथिएटर’ बनारस घाटको आकारसँग मिल्दो जुल्दो छ । कारण भारतीय हुनुको उपज होला । एम्फीथिएटरमा हिँड्दा त्यहाँ दुई तर्फ पानीको धारा देखिन्छ, जसको सांकेतिकरूप भारतको नदी गंगा र यमुना मानिन्छ । मन्दिरमा मयूर, हात्ती, चन्द्रमा एवम् घोडा र उँट अंकित हुनुले यूएईको प्रतिनिधित्व गरेको आभाष हुन्छ । मिठो भजन संगीत नेपथ्यमा गुञ्जिरहन्छ ।
यस मन्दिरमा दर्शन गर्न क्यूआर कोडमार्फत टिकट बुकिङ प्रणालीसमेत लागू गरेको छ । हामी सोहीअनुरूप साथीहरूसँग आएका थियौं । यहाँ अन्य मन्दिर जसो यहाँ टिका, फूल कम मात्रामा प्रयोग भएको पाइन्छ । थप जानकारी यसको वेभ साइटमार्फत पनि पाउन सकिन्छ । यहाँ ८ देखि १० हजारसम्मले एक साथ दर्शन गर्न सक्दछन् ।
यूएईकै दुबईमा समेत सन् २०२२ मा उद्घाटन गरिएको अर्को हिन्दू मन्दिर रहेको छ । ७० हजार वर्ग फुट क्षेत्रफलमा फैलिएको दुबईको जेबेल अली स्थित एउटा गाउँको रुपमा सबै धर्मावलम्बीको आस्था मन्दिर, चर्च, गुरुद्वार, मस्जिद देख्न सकिन्छ । यस मन्दिरलाई बुर दुबईमा साँघुरो भएका कारण जेबेल अलीमा स्थानान्तरण गरिएको हो ।
१६ भन्दा बढी देवी–देवताको आकृति अंकित मूर्ति रहेको छ र अग्रभागमा अरबी र हिन्दु धार्मिक कलात्मक कुँदिएको छ । सेतो सिघमर्मर र टायल्समा जहाँ भगवान शिव, कृष्णा, गणेश, देवी महालक्ष्मीको मूर्ति रहेको छ । साथै, दक्षिण भारतीय देवी, देवता गुरुवायूरप्पन, अयप्पनको समेत प्रतिमा राखिएकोले नजिकै प्रार्थना गर्न सहज मिल्ने गर्दछ ।
मन्दिर बन्ने पक्का भएताका केही उग्रवादीहरूले सामाजिक सञ्जालमा विरोध प्रकट गरेका थिए । मुस्लिम देशमा हिन्दु मन्दिर बन्दा आफ्नो धर्ममा ह्रास आउने सोचेका थिए भने अन्य हिन्दुहरू खुसी भएका थिए । यहाँ एकै साथ १००० भन्दा बढी भक्तजनले पूजा अर्चना गर्न सक्दछन् ।
यूएईमा रहेका मन्दिर हिन्दूले मात्र पूजा अर्चना गर्ने नभइ सबै समुदायका लागि खुला छ । यी मन्दिर मानवताको साझा सम्पदाको प्रतीक बनेका छन् । दुबै मन्दिरलाई कुनै देवी देवताको नाममा नभइ समग्र हिन्दु मन्दिर भनेर नामाकरण गरिएको छ, सायद हिन्दुभित्रका पनि सबैबीच सौहार्दता होस्, जोसुकै समुदायले पनि दर्शन गर्न सकोस् भन्ने उद्देश्य होला । तसर्थ, यी मन्दिरले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षक बनाउनु, सांस्कृतिक मूल्य मान्यता, आध्यात्मिकता, सहिष्णुता र हिन्दु मुस्लिम या अन्य धर्मावलम्बीबीच आपसी भाइचारा, सद्भाव, संस्कृति, अपनत्व, स्नेह र श्रद्धाको प्रतिनिधित्वसमेत गर्ने गरेको छ ।