नेपाली क्रिकेट टोली सुपर ८ को बाटोमा-Sutra News

नेपाली क्रिकेट टोली सुपर ८ को बाटोमा

बुधबार, ३० जेष्ठ २०८१

बुधबार, ३० जेष्ठ २०८१

नवौँ संस्करणको टी २० विश्वकपमा सबैको ध्यान तान्ने कुनै टोली छ भने त्यो हो– नेपाल ।



विश्वकपअघि मैत्रीपूर्ण खेलमा दुई पटकको विश्व विजेता टोली वेष्ट इण्डिजमाथि जित निकाल्दै दबाबमा राख्न सफल भएको नेपालले जुनसुकै देशलाई पराजित गर्न सक्ने विश्लेषण हुँदै आएको छ ।

जारी विश्वकपको समूह ‘डी’मा रहेको नेपाली टोली एक दशकपछि दोस्रो पटक सहभागी भएको हो । यो समूहमा विश्व विजेता टोली श्रीलंकासहित दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्ड छन् ।

आफ्नो पहिलो खेलमा नेदरल्याण्डससँग पराजित भएको नेपाल, दोस्रो खेल श्रीलंकासँग भिड्दै थियो । प्रतियोगिता अघि बढ्दै जाँदा दृढ संकल्प, कौशल र अटल भावनाको मिश्रणले जित निकाल्ने अपेक्षा थियो । तर, खेल हुन पाएन ।

नेपालले अब दुई टोलीसँग खेल्न बाँकी छ । यस अवस्थामा नेपाली क्रिकेट टोली ऐतिहासिक उपलब्धिको नजिक उभिएको छ । सुपर ८ मा छनोट हुन तयार छ ।

नेपालको बाटो

समूह ‘डी’मा रहेका पाँच टोलीमध्ये दक्षिण अफ्रिका सशक्त प्रदर्शन गर्दै अन्तिम ८ मा पुग्ने निश्चत बनेको छ । यो टोलीले ६ अंक जोडेर सुपर ८ मा आफ्नो स्थान पक्का गरे पनि दोस्रो टोली छनोट हुन सकेको छैन ।

दोस्रो टोली छनोटका लागि नेपालसहित अन्य देशको संर्घष जारी छ । जसमा नेपाल बलियो दाबेदारको रूपमा उभिएको छ ।

वर्षाका कारण श्रीलंकासँग १ अंक बाँडेको नेपाली टोली सुपर ८ मा पुग्ने चुनौतीपूर्ण तर रोमाञ्चक बाटोमा छ । नेपालले बाँकी दुई खेलमा जित निकाल्न सके इतिहास बन्ने छ । नेपाली टोली इतिहास रच्ने बाटोमा छ ।

अन्तिम ८ मा पुग्ने आफ्नो आशा जीवित राख्न नेपालले बंगलादेशमाथि जित हासिल गर्नै पर्छ । यो जितले नेपाली टोलीको अंक र मनोबल बढाउने छ ।

यसपछि नेपालले दक्षिण अफ्रिकाको सामना गर्नु पर्ने हुन्छ । समूहमा दबदबा बनाएर शीर्ष स्थानमा रहेको टोलीलाई पराजित गर्नु ठूलो उपलब्धि मात्र होइन, नेपाले महत्वपूर्ण ५ अंकमा हासिल गर्नु पनि हो । यो जितसँगै सुपर ८ को स्थान बन्ने निश्चित हुने छ ।

यसबीच नेदरल्याण्डसको खेलमा पनि भर पर्नु पर्ने हुन्छ । श्रीलंका वा बंगलादेशमध्ये एक देशले नेदरल्याण्ड्समाथि विजय हासिल गरे नेपालको ५ अंकसहित स्वतः अन्तिम ८ मा पुग्ने छ ।

नेपालको यात्रा

नेपाली टोलीका सदस्यहरूको औसत उमेर २३.७ वर्ष छ । सबैभन्दा युवा भएको नेपाली टोलीले गरेको विश्वकप यात्रा लामो छैन ।

पहिलो पुस्ताका खेलाडी नभएकाले नेपाली टोली अनुभवविहीन छ । तर, विश्वकपको यात्रा आफैमा सानो उपलब्धि भने होइन । सामान्य मैदानदेखि विश्व मञ्चमा प्रतिस्पर्धा गर्न पुगेको नेपाली टोलीले अतुलनीय विकास र क्षमता देखाएको छ ।

विश्वकपमा नेपाली टोलीका फ्यानले प्रत्येक रन, प्रत्येक चौका र छक्का, प्रत्येक विकेटमा गौरव गरिरहेका छन् । जसको सामूहिक आकांक्षा टोली राम्रो होस् भन्ने नै हो ।

आगामी खेलहरू खेल मात्र होइनन्, खेलाडीहरूले गरेको वर्षौंको मेहनत, लगनशीलता र उनीहरूको क्षमतामा अटल विश्वासको परिणति हुन् । टोलीलाई समर्थकले दिएको अटल माया हो । विश्वास र भरोसा हो ।

सन्दीपको भूमिकामा हल्लिएको विश्व

विश्वकप सुरु भएसँगै सबैभन्दा बढी कुनै खेलाडीको चर्चा भएको छ भने यी खेलाडी हुन्– सन्दीप लामिछाने ।

विश्वका अधिकांश क्रिकेटको फ्रेञ्चाइज खेलेका सन्दीपलाई आयोजक अमेरिकाले भिसा नदिएसँगै थप चर्चा बन्यो । तर, मूल आयोजक वेष्ट इण्डिजमा हुने दुई खेलमा उनी सहभागी हुने भएसँगै विश्वभर हर्ष र खुसी छायो । यो समाचार विश्वका ठूला सञ्चार माध्यमले कभर गरे ।

आफ्नो असाधारण प्रतिभा र खेलले विश्वभर छाएका उनी टोलीमा फर्किनासाथ अन्य खेलाडीको मनोबल उच्च हुनेछ । विपक्षी टोलीले आफैमा दबाब महसुस गर्ने छन् । यसमाथि उनी अब खेल हुने मैदानहरूमा परिचित छन् ।

लामो विवाद र चर्चाका बीच नेपालले खेल्न बाँकी दुई खेलमा सन्दीपको सहभागी हुँदै गर्दा नेपालको बलिङ आक्रमण बन्ने छ । टोलीका साथी र फ्यानहरूमा आत्मविश्वास र आशा जगाउने छन् ।

एक ढिक्का बनेको नेपाल

विश्वकप सुरु भएसँगै सिंगो देश एक ढिक्का बनेको छ । आपसमा आक्रोसित बन्ने राजनीतिक दलदेखि कुना कन्दराका नेपाली खेललाई समर्थन गर्न अडिक बनेका छन् ।

काठमाडौंको एउटा कुनामा खेलेको नेपाल विश्व हल्लाउने अमेरिकाको मैदान पुगेर विश्वको ध्यान खिच्न सफल भएको छ । जसलाई मैदानमा पुगेका समर्थकले साथ दिएका छन् । खेल मैदानमा देखिएको समर्थकको ठूलो चर्चा भइरहेको छ ।

नेपाली टोलीको हौसला र समर्थकको साथका कारण नेदरल्यान्ड्सका खेलाडीले अनौठो प्रतिक्रिया दिएका थिए । नेपालसँगको खेलमा नेदरल्यान्ड्सका बलर लोगान भान बिकले भनेका थिए, ‘मलाई कन्फ्यूज्ड भयो कि म नेपालमा खेलिरहेको छु या डालासमा (अमेरिका) ।’

निष्कर्ष

टी २० विश्वकपमा नेपालको हरेक खेलले विश्वको ध्यान खिच्ने छ । सुपर ८ मा पुग्ने चुनौतीसँगै दृढ संकल्प बाँकी रहेको छ ।

सन्दीपको आगमनले टोली र समर्थकलाई खुसी दिनेमा कुनै शंका मान्नु पर्दैन । सन्दीपलाई टोलीमा समावेश गर्न जुन कठिनाइ भएको थियो यसले पक्कै सार्थकता पाउने छ । यसका साथै नेपाली टोलीले हरेक खेलमा आफ्ना फ्यानको मन जित्दै सुनौलो बाटोको यात्रा तय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट