निर्माण टीमलाई तनाव थपिँदा फिल्म पुष्पा २ को प्रर्दशन मिति हेरफेर-Sutra News

निर्माण टीमलाई तनाव थपिँदा फिल्म पुष्पा २ को प्रर्दशन मिति हेरफेर

बिहिबार, ३१ जेष्ठ २०८१

बिहिबार, ३१ जेष्ठ २०८१

काठमाडौं । साउथका सुपरस्टार अभिनेता अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा-द रुल’ को फ्यानहरू उत्सुकताका साथ पर्खिरहेका छन् ।रिलिज मिति नजिकिँदै जाँदा फ्यानहरूको उत्साह बढ्दै गएको छ । फिल्मको रिलिज मिति १५ अगस्ट २०२४ हो ।



अब मात्र दुई महिना बाँकी छ । यस्तो अवस्थामा फ्यान जति खुसी छन्, निर्माताहरू उति नै तनावमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्मको टिजर र गीत रिलिज भइसकेको छ तर ट्रेलर रिलिज हुनुअघि नै फिल्मको प्रदर्शन मिति परिवर्तन भएको खबर आएको छ ।

समाचारमा जनाइएअनुसार फिल्मको पोष्ट प्रोडक्सनको केही काम बाँकी रहेको र जसलाई पूरा गर्न टिमलाई थप एक महिना लाग्ने भएको छ । यति मात्र होइन, निर्देशक सुकुमार फिल्ममा भएको भीएफएक्सको कामबाट सन्तुष्ट छैनन् । जसका कारण फिल्मको रिलिज अलि पछि सारिने सम्भावना बढेको बताएका छन् ।

तेलुगु ३६० ले आफ्नो एक रिपोर्टमा सुटिङको समयतालिका कडाईका साथ पालना गर्दा पनि निर्माताले ‘पुष्पा-२’ को रिलिज मिति सार्नु पर्ने हुन सक्ने बताएको छ । फिल्मका केही पार्ट्स यस्ता छन्- जसलाई फेरि सुटिङ गर्नु पर्ने उल्लेख गरेको छ ।

निर्देशक सुकुमार र उनको टोलीले केही दृश्यहरू पुनः डिजाइन गरेका छन् । जसलाई छायांकन गर्न समय लाग्ने छ । निर्माताहरूले समयसीमा पालना गरिरहेका छन् । निर्देशक सुकुमारले पनि समयमै काम पूरा गर्न सक्दो प्रयास गरिरहेका छन् । तर, कामको गतिमा थोरै माथि वा तल गए भने सन्तुलन गडबड हुन सक्छ ।

यस्तो अवस्थामा निर्माताहरूले रिलिज मितिलाई सुरक्षित पक्षमा पुर्‍याउन सक्ने सम्भावना छ अर्थात सार्न सक्ने देखिन गएको छ । यद्यपि, सुकुमार र निर्माण टिमले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् । निर्देशक सुकुमारले पुराना कुराहरु सम्झदै केही दबाबमा रहे पनि पुष्पा-द राइज समयमै रिलिज भएको बताएका छन् ।

अघिल्लो भागको तुलनामा निर्माताले ‘पुष्पा-२ द रुल’ को स्तर बढाएका छन् । फिल्म बनाउन करिब पाँच सय करोड रुपैयाँ खर्च भएको र त्यसलाई उठाउन फिल्मले हरेक पक्षबाट उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ ।

यस्तो अवस्थामा सुकुमार पूर्ण रूपमा सन्तुष्ट नभएसम्म फिल्म रिलिज हुने सम्भावना कम छ । फिल्ममा अल्लु अर्जुनका अलावा रश्मिका मन्डन्ना, विजय सेतुपति र फरहादको महत्वपूर्ण भूमिका छ । फिल्मको पहिलो भागले ३७३ करोड कमाउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट