प्रिमियरमा ‘बाटो : रोड टु डेथ’लाई प्रशंसा, हेर्न छुटाउनै नहुने प्रतिक्रिया-Sutra News

प्रिमियरमा ‘बाटो : रोड टु डेथ’लाई प्रशंसा, हेर्न छुटाउनै नहुने प्रतिक्रिया

बिहिबार, ३१ जेष्ठ २०८१

बिहिबार, ३१ जेष्ठ २०८१

काठमाडौं । भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटो : रोड टु डेथ’को रिलिजको पूर्वसन्ध्यामा बुधबार साँझ ग्राण्ड प्रिमियरको आयोजना गरिएको थियो ।



प्रिमियरमा फिल्मको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो । सहभागी अधिकांशले फिल्मको प्रशंसा गर्दै कथावस्तु मनपरेको प्रतिक्रिया दिएका थिए ।

प्रिमियरमा राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी, राठी कोलका सिईओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका एचओडी रिदम शाह लगायत उपस्थित थिए । अध्यक्ष राठीले फिल्म क्षेत्रमा पहिलो पटक जोडिएर काम गर्न पाउँदा गर्व महसुस गरेको र आगामी दिनमा पनि यस क्षेत्रमा कुनै न कुनै बहानामा जोडिइरहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यस फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा यो चलचित्र हेर्ने गति सबैले प्रशंसा गरेको बताए । उनले यस्तै प्रशंसा नेपाली दर्शकहरूबाट पनि पाउनेछु भन्ने आशा आफूले लिएको बताए । उनले भने, “नेपाली फिल्मको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ । आजकल दर्शक फिल्ममेकर बन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले चलचित्र राम्रो नै बनाउनु पर्छ ।”

फिल्मका अभिनेता सुलक्षण भारतीले यो फिल्ममा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए । उनले यस प्रकारको फिल्म नेपालमा यसअघि नबनेको बताए ।

अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतिक्षपछि फिल्म रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । अभिनेत्री रक्षा थापाले यो फिल्ममा एकदमै धेरै भावना जोडिएको बताइन् । उनले ‘बाटो’ हेर्दा चलचित्र सकिएको थाहा नै नहुने बताइन् ।

अहिलेसम्म नेपालमा बनेका फिल्महरू मध्ये बिलकुल फरक बनेको र यो फिल्मले दर्शकलाई एउटा बाटोमा डोर्याउन सफल रहने प्रतिक्रिया प्रिमियर शो पछि प्रतिक्रिया दिँदै सहभागीले बताए । प्राविधिक रूपमा अत्यन्त गहन तरिकाले काम भएको र हरेक कलाकारको काम उत्कृष्ट रहेको प्रिमियरमा सहभागीले जनाए ।

काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यस फिल्मका निर्माता चन्दन झा हुन् । यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायाकार शरण ऋषिले छायांकन गरेका छन् ।

फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट