कोशीमा मनसुनी वर्षाको वितण्डा, तीन घरसहित पुल बगायो-Sutra News

कोशीमा मनसुनी वर्षाको वितण्डा, तीन घरसहित पुल बगायो

बिहिबार, ३१ जेष्ठ २०८१

बिहिबार, ३१ जेष्ठ २०८१

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बढ्दो तापक्रमले जनजीवन अस्तव्यस्त बनेको छ । सरकारले तातो हावा (लु)बाट बञ्च आग्रह गर्दै आएको छ ।



यसैबीच दुई दिनअगाडि मात्रै नेपालको कोशी प्रदेशबाट भित्रिएको मनसुनी वर्षाले बितण्डा मच्चाउन सुरु गरेको छ । यस वर्ष औसतभन्दा धेरै वर्षा हुने आंकलन भइरहेको अवस्थामा कोशी प्रदेशमा बाढी पहिरोले मानवीय तथा भौतिक क्षति गर्न थालेको हो ।

गएरातिको अविरल वर्षाले कोशी प्रदेशको शङ्खुवासभाको खाँदबारी नगरपालिका ११ आङ्लास्थित कोक्तिगाउँमा पहिरो जाँदा तीन घर बगाएको छ । पहिरोमा परी एक जना घाइते भएका छन् ।

कोक्तिगाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परी मणिप्रसाद राई घाइते भएका हुन् ।

पहिरोले घर बगाएपछि विस्थापित भएकाहरू छिमेकीको घरमा बस्दै आएका छन् । पहिरोका कारण जिल्लाको नौ स्थानमा पहिरो गएको छ । जसका कारण दर्जनौँ परिवार विस्थापित भएका छन् ।

जिल्लाको चिचिला गाउँपालिकाको १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।

यस्तै गएरातिको वर्षाले सोही प्रदेशको ताप्लेजुङको सिसवा खोलामा आएको बाढीले भौतिक क्षति बनाएको छ । स्थानीय र सवारी साधनका लागि प्रयोग हुँदै आएको पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् ।

सिसवा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी थुनिँदा ड्याम बनेर तमोर नदी आसपासका तल्लो तटवती क्षेत्रमा जोखिम बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट