काठमाडौं । काठमाडौं महानगर ३२ कोटेश्वर फुलवारीमार्गस्थित आहाना इन्टरप्राइजेज प्रा.लि.को गोदामबाट २० लाखभन्दा बढीको सामान चोरी गरेको अभियोगमा तीन जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं नरदेवी बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका ६ घर भएका २७ वर्षीय सोनु गदाल, भक्तपुर ठिमी नगरपालिका १ लोकन्थली बस्ने २८ वर्षीय अनिश थापा र भक्तपुर मध्यपुर ठिमी बस्ने नवलपरासी रामनगर सुनौल नगरपालिका १ घर भएकी ४६ वर्षीया ममता घले रहेका छन् ।
उक्त गोदामबाट शिशु अनुगामी पावडर ब्राण्डका सामानहरू गत वैशाख ३१ गते दिउँसो चोरी भएको घटना अनुसन्धानको क्रममा सोही गोदाममा काम गर्ने उनीहरूको संलग्नता रहेको भन्ने खुल्न आएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।