काठमाडौं । यही जुन १५ तारिखदेखि युरोपको फुटबलको महाकुम्भ युरोकप सुरु हुँदैछ । जर्मनीमा हुने युरोकपमा युरोपका २४ देशले भाग लिँदै छन् ।
युरोकप नजिकिएसँगै रहँदा धेरै स्टार फुटबलरले यस पटकको युरोकप गुमाउने भएका छन् । केही खेलाडीहरू चोट र निलम्बन भोग्दै छन् भने केही राष्ट्रिय टिममा छनौट हुन सकेनन् । योसँगै उनीहरू युरोकपमा नदेखिने भएका हुन् ।
मिनी विश्वकप भनिने युरोकप गुमाउने सबैभन्दा ठूलो नाम बेल्जियमका चर्चित गोलकिपर थिबाउट कर्टिओस छन् । राष्ट्रिय टिमका प्रशिक्षकको विवादका कारण उनी यस युरोकपमा देखिने छैनन् ।
त्यस्तै, स्पेनका मिडफिल्डर गाभीले पनि चोटका कारण युरोकप गुमाउने भएका छन् । युरोकपको आयोजक रहेको जर्मनीका स्रेगी ग्नाब्रीले पनि चोटका कारण युरोकपमा नखेल्ने भएका छन् । उनी राष्ट्रिय टिममा कहिले फर्किन्छन् ? भन्ने अनिश्चित रहेको रिपोर्टमा बताइएको छ ।
म्यानचेस्टर सिटीबाट खेल्ने स्टार मिडफिल्डर ज्याक ग्रिलिश पनि यस युरोकपमा नदेखिने भएका छन् । उनी इङल्याण्डको टिममा पर्न असफल भएका छन् ।
जर्मनीका स्टार डिफेण्डर माट्स हुमेल्सले पनि युरोकपमा नखेल्ने भएका छन् । प्रशिक्षक जुलियन नागेल्सम्यानले हुमेल्सको सट्टा एन्टोनियो रुडीगेर र जोनाथन टाहलाई प्राथमिकता दिएपछि हुमेल्सले युरोकप गुमाउने भएका छन् ।
यीबाहेक इङल्याण्डका रीच जेम्स, मार्कस राशफोर्ड, ह्यारी माग्युरे, रहिम स्टरलिङ, जोर्डन हेन्डरसन, इटालीका सान्द्रो टोनाली, नेदरल्याण्डसका जुरिएन टिम्बर, इटालीका डोमेनिको बेरार्डीले यस पटकको युरोकप गुमाउने भएका छन् ।
यसैगरी फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले लागू औषध प्रकरण डोपिङमा परेर प्रतिबन्ध झेलेपछि युरोकप गुमाएका छन् ।