काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो महाधिवेशनले अध्यक्ष बाहेकका सबै पदाधिकारी सहमतिबाट चयन गर्ने निर्णय गर्यो । बिहीबारका लागि तय भएको मतदान प्रक्रिया स्थगित गरि सहमतिबाट चयन गर्ने निर्णय लिएको हो ।
महाधिवेशन प्रतिनिधिहरुले सबै पदमा पदाधिकारी चयनको जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अब अध्यक्ष यादवले सबै पदबारे निर्णय लिनेछन् ।
यसअघि केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन गर्ने कार्यतालिका तय गरिएको थियो । जसका लागि मनोनयन दर्ता खुलाइएको थियो ।
तर, सबै पदमा कडा प्रतिस्पर्धा हुने अवस्था बनेसँगै अध्यक्ष यादवले अधिकार आफूमा केन्द्रीत गर्दै पछिल्लो निर्णय गराएका हुन् ।
जसपामा एकजना सहअध्यक्ष पदका लागि तीन जना, पुरुष उपाध्यक्ष पदका लागि १७ जना, महिला उपाध्यक्ष पदका लागि ६ जना, २ जना महासचिवका लागि ६ जना, एक महिला र २ पुरुष उपमहासचिवका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, २०१ केन्द्रीय सदस्यका लागि तीन सयभन्दा बढीको उम्मेदवारी परेको छ ।
पछिल्लो निर्णयसँग सबै अधिकार करिब अध्यक्ष यादवमै केन्द्रीत बनेको छ । उसो त यादव १६ वर्षदेखि अविछिन्न अध्यक्ष पदमा आशिन छन् । पछिल्लो निर्णयसँगै उनी थप शक्तिशाली अध्यक्ष बनेका छन् ।
२०६२/०६३ को मधेश जनविद्रोहसँगै यादवले आफ्नो नेतृत्वमा मधेशी जन अधिकार फोरम गठन गरेका थिए । जुन पहिलो संविधानसभा निर्वाचन २०६४ मा ५२ सिटसहित मधेशको सबैभन्दा ठूलो शक्तिका रुपमा उदाएको थियो ।
तर, बितेको १६ वर्षमा यादव नेतृत्वको शक्ति निकै टुटफुट र विभाजित बनेको छ । गएको आम निर्वाचनमा जसपा नेपालले १२ सिट मात्र जित्न सक्यो । यसमध्ये पनि अशोक राईले ७ सिट लिएर जसपा गठन गरेपछि उनको पार्टी थप कमजोर बनेको छ । यसरी हेर्दा यादव कमजोर पार्टीको बलिया अध्यक्ष बनेका छन ।
पार्टी नेतृत्व कब्जा गर्न यादवले प्रचण्ड र ओलीकै सिको गरेका छन । प्रचण्ड लामो समयदेखि नेतृत्वमा छन । ओली अलि पछि नेतृत्वमा आए पनि राजनीतिमा सक्रिय हुँदासम्म नेतृत्व नछोड्ने उनका गतिविधि र अभिव्यक्तिले प्रष्ट पारिसकेका छन । पार्टी फुटोस् तर, आफ्ना आलोचक र नेतृत्वमा आँफुविरुद्ध उभिने नेताहरुलाई किनारा लगाउने प्रवृत्ति प्रचण्ड, ओलीपछि यादवमा देखिएको छ ।
एक समय यादव राजनीतिक रुपमै बलिया नेता थिए । केन्द्रिय राजनीतिमा उनको बलियो प्रभाव थियो । मधेश आन्दोलनको जगबाट उठेको उनको राजनीतिक व्यक्तित्वको रापतापले एकताका अशोक राई, बाबुराम भट्टराई, महन्थ ठाकुर जस्ता नेताहरुलाई समेत आकर्षित गर्यो ।
यादवसँगको सहकार्यमा राजनीतिक सुरक्षा देखेका यी नेताहरुले एकपछि अर्को गरी यादवलाई छोडेका छन । टुक्रिएर बँचेको पार्टीमा पनि उनले जसरी एकाधिकार जमाएका छन्, यसबाट विगतकै जस्तो पार्टी र आफ्नो राजनीतिक व्यक्तित्वलाई फर्काउन सक्लान कि नसक्लान यो भने समयकै गर्भमा छ ।