आफ्ना नेताहरुमाथि गृहमन्त्रीले लगाएको आरोपमा कांग्रेसले खोज्यो प्रधानमन्त्रीको जवाफ-Sutra News

आफ्ना नेताहरुमाथि गृहमन्त्रीले लगाएको आरोपमा कांग्रेसले खोज्यो प्रधानमन्त्रीको जवाफ

शुक्रबार, ३२ जेष्ठ २०८१

शुक्रबार, ३२ जेष्ठ २०८१

काठमाडौं । आफ्ना नेताहरुलाई लक्षित गरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगाएको आरोपको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट जवाफ माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्को आगामी बैठकमा प्रधानमन्त्रीको जवाफका लागि रुलिङ गर्न सभामुखसँग माग गरेका हुन् ।



“केही समय पहिले गृहमन्त्रीले कांग्रेसका नेताहरूप्रति लाञ्छनायुक्त अभिव्यक्ति दिनुभएको थियो, यसमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने हामीले माग गरेका छौं, प्रधानमन्त्री धेरै दिनदेखि संसद्‌मा आउनु भएको छैन, तयारी चलिरहेर हो कि ? जवाफ दिन डराएर सदनबाट भाग्नुभएको हो ?”, लेखकले भनेका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले गत जेठ ६ मा संसदलाई सम्बोधनका क्रममा संसदमै देशको गोप्य सूचना बेच्ने एजेन्टहरु रहेको बताएका थिए । उनले ति एजेन्टहरुलाई संसदबाट बाहिर निकाल्नुपर्ने बताएका थिए ।

आफ्ना नेतालाई लक्षित गर्दै लामिछानेले दिएको अभिव्यक्तिको कांग्रेसले विरोध गर्दै आएको छ । साथै, कांग्रेसले प्रधानमन्त्रीबाट जवाफ दिनुपर्ने माग गरिरहेको छ ।

शुक्रबारको बैठकमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे पनि सदनलाई जानकारी गराउन माग गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा गएका छन् । उनी असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

साथै, प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणका लागि नयाँ दिल्ली पुगेका थिए । उनले भारतीय प्रधानमन्त्री मोदीसहित विदेशमन्त्री एस जयशंकरलगायतसँग वार्ता गरेका थिए ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे पत्रिका पढेर जानकारी पाएको भन्दै विस्तृत जानकारी संसदमा हुनुपर्ने माग गरेको छ । “आगामी दिनको यो प्रतिनिधि सभा बैठक प्रारम्भ हुनेबित्तिकै प्रधानमन्त्रीज्यूबाट आफ्नो भारत भ्रमण र राष्ट्रपतिजीको विदेश भ्रमणका बारेमा सदनलाई जानकारी हुनुपर्छ, अखबार पढेर समाचार जानकारी हुने अवस्था नबनोस्”, लेखकले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट