जब माओवादीभित्र केहीको वर्ग उत्थान भयो…-Sutra News

जब माओवादीभित्र केहीको वर्ग उत्थान भयो…

शुक्रबार, ३२ जेष्ठ २०८१

शुक्रबार, ३२ जेष्ठ २०८१

हाम्रो आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । चामलको भात खान कि दशैँ आउनुपर्थ्यो, कि पाहुना आउनुपर्थ्यो । मासु खान पनि दशैं नै आउनुपर्थ्यो । अशिक्षा थियो, गरिबी थियो । यतिसम्मको अवस्था थियो कि केरा खाएपछि त्यसको बोक्राको भित्री पाटोमा हुने गुदी खानसमेत हामी दाजुभाइ दिदीबहिनीमा तँछाडमछाड हुन्थ्यो । चेतनाका हिसाबले माथि भए पनि वर्गीय हिसाबले धरातल त्यही नै थियो ।



म अहिले पनि त्यो धरातल बिर्सन हुन्न भन्ने पक्षमा छु । यो सन्देशका लागि सन्देश मात्र होइन व्यवहारबाटै देखाउनुपर्छ भन्नेमा म सचेत पनि छु । म हिजो गोर्खा बस्थें, आज काठमाडौँ बस्छु । हिजो पैदल हिँड्थे, आज स्कुटर चढ्छु । स्थान र परिस्थितिअनुसार त फरक हुने नै भयो तर, हिजोको वर्गीय धरातलबाट वर्गीय उत्थान भएको सार्वजनिक आलोचनाबाट म बाँच्नुपर्छ भन्नेमा सचेत छु ।

हामी कलेज पढ्दा समाज रूपान्तरणमा लाग्ने प्रेरणा पैदा भयो । त्यसैले निजी सम्पत्ति, निजी पढाइ, निजी पारिवारिक सम्बन्धहरू, माया ममता, यी सबै विषय आन्दोलनभित्रै प्राप्त गर्ने भनेर सबै छोडेर लाग्यौँ । यो सामूहिक स्वार्थलाई लत्याएर व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्नु हुँदैन भनेर व्यवहारमै उतार्न खोजेको छु । म मात्र होइन, मेरो तहका अन्य थुप्रै साथीहरू पनि हुनुहुन्छ । जनताको आधारभूत तह त हिजोभन्दा आज बढी आर्थिक समस्यामा छ । तिनै जनताको स्थिति सुधार्ने भनेर लागेका हामीहरूको सम्बन्ध ति जनतासँग बिग्रियो भने हामीभन्दा बेइमान त कोही पनि हुँदैन ।

जनताको आधारभूत तह त हिजोभन्दा आज बढी आर्थिक समस्यामा छ । तिनै जनताको स्थिति सुधार्ने भनेर लागेका हामीहरूको सम्बन्ध ति जनतासँग बिग्रियो भने हामीभन्दा बेइमान त कोही पनि हुँदैन ।

विद्यार्थी संगठनको नेताको जिम्मेवारी पुरा गरेयताका १५ वर्षमा पार्टीका तर्फबाट आर्थिक सहयोग छैन । पार्टीका कुनै पनि नेताले के खाएको छस्, के लाएको छस्, बालबच्चाको स्थिति के छ ? भनेर सोधेको छैन । यो कसैले कसैलाई सोध्दैन ।

विद्यार्थी संगठनको अध्यक्षको जिम्मेवारी पुरा गरिसकेपछि श्रीमान् श्रीमतीबीच छलफल भयो । दैनिकी चलाउन दुई जनामध्ये एक आय–आर्जनसँग जोडिनुपर्छ भन्ने निष्कर्ष आयो । यसको दुई वटा उपाय थियो, कि जागिर खाने, कि विदेश जाने । म त यत्रो वर्ष राजनीतिको अग्र भागमा बसेर काम गरेको मान्छे, चटक्कै छाडेर विदेश जाँदा डिप्रेसनमा जान्छु कि भन्ने त्रास भयो ।

जागिर खाए पनि, विदेश गए पनि श्रीमतीले गर्ने भन्ने कुरा भयो । छलफल जारी रहँदा ऋण खोजेरै भए पनि श्रीमतीले लोकसेवाको परीक्षाको तयारी गर्ने र मैले त्यसको निम्ति वातावरण बनाउने निष्कर्षमा पुगियो । पहिलो विकल्पमा यो प्रयास गर्ने असफल भए विदेश जाने सुनिश्चित गरियो । उनले पढ्नेबाहेकको केही पनि काम गरिनन् । त्यो अवधिमा मैले खाना बनाएर पढिरहेको टेबलमै पुर्‍याएँ । किताब त उनले पढिन् तर, जिन्दगी दुवैले पढ्यौँ ।

तर, आज माओवादी केन्द्रका कतिपय नेताहरूको वर्ग अनौठो शैलीमा परिवर्तन भएको छ । उनीहरूसँग आज घर छ, गाडी छ । यसैले उनीहरु सार्वजनिक आलोचनाको केन्द्रमा छन् । पार्टीको आकारमा ह्रास आउनुको कारण पनि यही हो ।

ठीक एक वर्षपछि उनले लोकसेवा पास गरी अधिकृतमा नाम निकालिन् । अहिले उनी सरकारी सेवामै छिन् । हाम्रो भात खाने बाटो त्यही हो । म अलि–अलि किताब लेख्छु, राष्ट्रिय दैनिकहरूमा स्तम्भ पनि लेख्छु । केही दैनिक खर्च म आफैँ पनि जुटाउँछु । यसरी मेरो र परिवारको जिन्दगी चलिरहेको छ ।

तर, आज माओवादी केन्द्रका कतिपय नेताहरूको वर्ग अनौठो शैलीमा परिवर्तन भएको छ । उनीहरूसँग आज घर छ, गाडी छ । यसैले उनीहरु सार्वजनिक आलोचनाको केन्द्रमा छन् । पार्टीको आकारमा ह्रास आउनुको कारण पनि यही हो । नेताहरू मन्त्री हुने वंशजको आधारमा होइन, आन्दोलनको बलमा हो । अनि व्यक्तिमा बिछट्टै क्षमता भएर पनि होइन, आन्दोलनले हामीलाई सार्वजनिक ठाउँमा पुर्‍याएको हो । सबै मानिस मन्त्री बन्न सक्दैनन्, सबै मानिस सांसद बन्न सक्दैनन् तर, सांसद, मन्त्री नबन्ने धेरै साथीहरू अहिले पनि पार्टीमा छन्, ति के गर्दैछन् भनेर पार्टीले सोच्नु चाहिँ पर्छ ।

एउटै मान्छे जहिले पनि सांसद भएको छ, एउटै मान्छे जहिले पनि मन्त्री भएको छ, अकुत सम्पत्ति कमाएको छ, धुलो उडाउँदै गाडी कुदाएको छ । अनि सँगै आन्दोलनमा हिँडेको साथी खान नपाएर, बालबच्चा पढाउन नसकेर हिँडेको छ । यसले नकारात्मक सन्देशभन्दा अरु के दिन्छ ?

म स्कुटरमा हिँड्दा दुई/चार करोडका गाडी चढेर हिँड्ने, आफ्नै पार्टीका नेताहरूसँग धेरै पटक ठोक्किएको छु । यो सामान्य जस्तै भइसकेको छ । तर, मलाई हीनताबोध चाहिँ छैन । 

वस्तुअनुसारको विचार बन्छ, धारणा र चेतना बन्छ । तपाईँ गाडी चढेर हिँड्दा पैदल यात्रुदेखि रिस उठ्छ । जनताको बीचमा बसेर काम गरिरहेकाहरूको त्यहीअनुसार दृष्टिकोण बन्छ । गाडी चढेर फुटपाथमा हिँड्नेहरूसँग रिसाउन थालेपछि अर्कै दृष्टिकोण बन्छ । अकुत सम्पत्ति कमाएको नेताले सम्पत्ति छानबिन गर्न मान्दैन । हामीले पार्टीमा यो कुरा उठाएका छौँ, तर हुन सकेको छैन । हामी कुरा उठाउन चाहिँ छोड्दैनौँ ।

म स्कुटरमा हिँड्दा दुई/चार करोडका गाडी चढेर हिँड्ने, आफ्नै पार्टीका नेताहरूसँग धेरै पटक ठोक्किएको छु । यो सामान्य जस्तै भइसकेको छ । तर, मलाई हीनताबोध चाहिँ छैन । घर बनाऔँ, गाडी चढौँ भनेर त्यसको मोह गरेको भए मैले पनि बोराका बोरा पैसा कमाउन सक्ने परिस्थिति थियो । विद्यार्थी नेता हुँदादेखि नै यसका विरुद्ध लडियो । मैले चढ्दै आएको स्कुटर पनि जागिरे श्रीमतीले प्रयोग गर्ने हो । उनी अहिले चाइना छिन् र मैले चढेको हो । आदर्शमा टेकेर हिँडिरहेका हामीलाई यसको हीनताबोध चाहिँ पटक्कै छैन ।

(न्यौपानेको विचार सूत्र न्युजसँग गरेको कुराकानीमा आधारित छ ।)

नेता न्याैपानेसँगकाे पूरा संवाद तलकाे लिंकमा हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट