असारका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजदर, कुनको कति पुग्यो ?-Sutra News

असारका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजदर, कुनको कति पुग्यो ?

शुक्रबार, ३२ जेष्ठ २०८१

शुक्रबार, ३२ जेष्ठ २०८१

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिना (असार)का लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । ब्याजदर घटाएसँगै जेठ महिनामा औसतमा ७.०६ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर असारका लागि ६.९६ प्रतिशतमा झरेको छ ।



बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार असारका लागि ११ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने तीन वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । यस्तै, ६ वाणिज्य बैंकले जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

जेठ महिनामा एभरेष्ट बैंकले ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेकोमा असारमा ब्याजदर घटाएर ५.७५ प्रतिशतमा झारेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ६.४ प्रतिशतबाट ६.२ प्रतिशतमा झारेको छ भने एसबीआई बैंकले ६.३९ प्रतिशतबाट ६.३० प्रतिशतमा झारेको छ ।

यस्तै, लक्ष्मी सनराइजले ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारेको छ भने ग्लोबल आइएमईले ७.५ प्रतिशतबाट ६.५ प्रतिशतमा झारेको छ ।

कुमारी बैंकले ७.२६ प्रतिशतबाट ६.५६ प्रतिशतमा झारेको छ भने प्राइम कमर्शियल बैंकले ७ प्रतिशतबाट ६.७५ प्रतिशतमा झारेको छ ।

सानिमा बैंकले ६.९ प्रतिशतबाट ६.८ प्रतिशत बनाउँदा सिटिजन्स बैंकले ७ प्रतिशतबाट ६.९ प्रतिशतमा झारेको छ । यस्तै, एनएमबी बैंकले ७.८ प्रतिशतबाट ७.६९ प्रतिशत र एनआइसी एसिया बैंकले ७.८ प्रतिशतबाट ७.६९ प्रतिशतमा झारेका छन् ।

अधिकांशका ब्याजदर घटाउँदा हिमालय, माछापुच्छ्रे र नबिल बैंकले ब्याजदर बढाएका छन् । जेठमा ७.५ प्रतिशत ब्याजदर दिएको हिमानलयनले ८.२५ प्रतिशत पुर्‍याएको छ भने माछापुच्छ्रे बैंकले ७.२६ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्‍याएको छ । यस्तै, नबिल बैंकले ६.७५ प्रतिशतबाट ७ प्रतिशत पुर्‍याएको छ ।

यता, अधिकांश घटबढ हुँदा कृषि, नेपाल बैंक, इन्भेष्टमेन्ट मेगा, सिदार्थ, स्ट्यान्डर्ड चार्टड र प्रभुले जेठकै ब्याजदरलाई कायम राखेका छन् । जसअनुसार असारमा कृषि विकास बैंकले ५.६६६१ प्रतिशत, नेपाल बैंकले ६.७५ प्रतिशत, इन्भेष्टमेन्ट मेगा बैंकले ७ प्रतिशत, सिद्धार्थ बैंकले ७ प्रतिशत, स्ट्यान्डर्ड चार्टड बैंकले ७ प्रतिशत र प्रभु बैंकले ७.५ प्रतिशत ब्याजदर दिनेछन् ।

चालु आर्थिको वर्षमा निक्षेपको बृद्धि थुप्रिए पनि बैंकहरुले कर्जा लगानी विस्तार गर्न सकेका छैनन् । जसको प्रभाव केही महिनादेखि बंैकहरुले लगातार ब्याजदर घटाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट