‘फ्लोर क्रस’ गर्ने देवकोटाकाे गुम्याे सांसद पद-Sutra News

‘फ्लोर क्रस’ गर्ने देवकोटाकाे गुम्याे सांसद पद

शुक्रबार, ३२ जेष्ठ २०८१

शुक्रबार, ३२ जेष्ठ २०८१

पोखरा । पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाको सांसद पद गुमेको छ । माओवादी संसदीय दलले गरेको कारबाहीको पत्र सभामुखले प्रदेशसभामा पढेर सुनाएलगत्तै देवकोटाको सांसद पद गुमेको हो ।



शुक्रबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटालाई कारबाही गरिएको सम्बन्धी माओवादी संसदीय दलको पत्र पढेर सुनाएका थिए ।

देवकोटाले जेठ २८ मा माओवादी केन्द्र संसदीय दलको ह्विप विपरीत मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादीले उनलाई स्पष्टीकरण सोधेको थियो ।

विश्वासको मत दिएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए । सांसद पदबाट मुक्त भएपनि उनको मन्त्री पद के हुने त्यो भने स्पष्ट भइसकेको छैन ।

संविधान अनुसार सांसद नभएको व्यक्ति पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ ।

यद्यपि, देवकोटा कारबाहीको सूचनाविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छन् । उनलाई सर्वोच्च अदालतले थमौती गरिदिएमा उनको पद रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट