काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
शनिबार बसेको कोशी प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
जसमा चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको मगरले जानकारी दिए । यस्तै चालू खर्चमध्ये संघीय अनुदानतर्फ फिर्ताका लागि ३ अर्ब रहेको उहाले बताए ।
मन्त्री मगरले अनुमान गरिएको खर्चको स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्व ४ अर्ब ९८ करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख रुपैया रहेको छ ।
यस्तै, सशर्त अनुदान चार अर्ब १६ करोड ४३ लाख, समपुरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड एक लाख रुपैया प्राप्त हुने अनुमान गरिएको मगरले बताए । बाँकी नगद मौज्दातबाट तीन अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख व्यहोरिने उनले जानकारी दिए ।
बजेटमा कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कृषिका लागि साढे दुई अर्ब, स्वास्थ्यमा साढे तीन अर्ब, पूर्वाधारका लागि १० अर्व रुपैयाँ विनियोजन गरिएको छ ।