काठमाडौं । भनिन्छ नि- केही पाउनका लागि केही गुमाउनु पर्छ । आज नेपाली क्रिकेट र क्रिकेट फ्यानहरूका लागि यस्तै हुन पुग्यो ।
अमेरिका र वेष्ट इण्डिजमा जारी आईसीसी टी २० विश्वकपमा नेपालले आफ्नो तेस्रो खेलमा १ रनले हार बेहोर्न पुग्यो । तर, विश्वभर नेपालको चर्चा भइरहेको छ ।
समूह ‘डी’मा सम्पन्न भएको खेलमा नेपाल दक्षिण अफ्रिकामाथि हाबी बनेको थियो । तर, दोस्रो इनिङ्स ब्याटिङ गरेको नेपालले पछिल्लो दुई अोभरमा अकल्पनिय प्रदर्शनसँगै एक रनको हार बेहोर्न पुगेको हो ।
बलिङ र ब्याटिङमा दक्षिण अफ्रिका जस्तो टोलीलाई कब्जामा राख्नु सानो कुरा थिएन । तर, जितको नजिक पुगेको टोलीले हार बेहोरेपछि क्रिजमा रहेका गुल्सन रुन थाले । उनलाई सोमपाल कामीले सम्हाले । जितको नजिक पुगेर हारेसँगै सम्पूर्ण क्रिकेटप्रेमीको मुटु चुडियो, उल्लास मनाउन तयारी हुँदै गर्दा असह्य पीडा भोग्नु पर्यो ।
नेपाल पराजित भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आफ्नो फेसबुकमा नेपालको तारिफ गर्यो । उसले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई मेन्सन गर्दै भनेको छ ‘गर्व गर्न लायक प्रदर्शन, शिर उँचो राख ।’
नेपालको खेलबाट आईसीसी मात्र नभई सर्वत्र चर्चा भइरहेको छ । विश्वभरका नाम चलेका खेलाडीदेखि क्रिकेट संस्थाहरूले नेपाली खेलाडीको प्रशंसा गरेका छन् ।
विश्वकपमा कमेन्टेटरको भूमिकामा रहेका दक्षिण अफ्रिकाकै पूर्वफास्ट बलर डेल स्टेनले नेपालको खुलेर तारिफ गर्न भ्याए । उनले नेपाल जीतको हकदार भएको बताएका थिए ।
‘बेजोड खेल भयो, म अण्डरडगको ठूलो फ्यान हुँ, दक्षिण अफ्रिकाको खेल भए पनि मेरो नेपालप्रति सहानुभूति थियो, उनीहरु जीतका हकदार थिए, तर फिनिसिङ लाइनसम्म पुग्न सकेनन्,’ उनले भने, ‘यदि नेपालले जितेको भए उनीहरु ‘टक अफ दि टुर्नामेन्ट’ हुन्थ्यो, त्यसपछि बंगलादेशविरुद्ध नेपालको म्याच विस्फोटक हुन सक्थ्यो, मैले मनमनै त्यही चाहेको थिएँ ।’
स्टेनले नेपाललाई सजिलै हराउन सकिन्छ भन्ठानेर दक्षिण अफ्रिकाले रणनीति बनाएको बताए । ‘साउथ अफ्रिकाले गलत रणनीति बनायो, तर पनि भाग्यवस उनीहरुले जिते,’ उनले भने ।
यस्तै, भारतका चर्चित कमेन्टेटर सञ्जय माँजेकरले ‘नेपाल अर्को १० वर्षसम्म हेरिन लायकको टोली’ भन्दै प्रशंसा गरे ।
इण्डियन प्रिमियर लिग (आईपीएल)को फ्रञ्चाइज टोलीहरू चेन्नाई सुप्पर किंग्स, दिल्ली क्यापिटल्स र मुम्बाई इण्डियन्सलगायत टोलीहरूले प्रशंसा गरेका छन् । यी टोलीहरूले ‘नेपाल तिमीले हाम्रो मन जितेका छौँ’देखि ‘गर्व छ टिम नेपाल’सम्म भन्न भ्याए ।
यस्तै, राजस्थान रोयल्सले लेखेको छ, ‘यो संघर्ष देखेर विश्व नै गर्वित भएको छ ।’
खेलपछि नेपाली कप्तान रोहित पौडेलले खेलको अन्तिम क्षण आफूहरूले चाहे जसरी सदुपयोग गर्न नसके पनि एउटा समूहको रूपमा आफ्नो टोलीप्रति गर्व लागेको बताएका थिए ।
‘हामीले जसरी खेल्यौँ, त्यसले यो सन्देश दिएको छ, कि नेपाल अब विश्व क्रिकेटको जुनसुकै तहमा खेल्न योग्य छ,’ रोहितले भने ।
एक रनले विजयी भएपछि दक्षिण अफ्रिकाका कप्तान एडेन मार्क्रमले नेपाली टोलीको प्रशंसा गरे । उनले भनेका थिए, ‘हामीले नेपालले यो स्तरमा खेल्छ भन्ने सोचेका थिएनौँ, नेपाली क्रिकेटले अब गर्ने भनेको प्रगति मात्रै हो ।’
पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ११६ रन मात्रै बनाउन सक्यो । उसलाई रोक्नका लागि कुशल भुर्तेलले चार विकेट लिए । दीपेन्द्रसिंह ऐरीले तीन विकेट झारे ।
औसत लक्ष्य पाएको नेपाल दक्षिण अफ्रिकामाथि हाबी बन्दै जित नजिक पुग्यो । तर, अन्तिम दुई ओभर दबाबमा आएसँगै खेल आफ्नो पोल्टाबाट फुत्केको थियो । यो खेललाई टी २० विश्वकपमा ‘क्लोज ब्याटल’को उदाहरणको रूपमा लिइने छ ।