एकैदिन १६ सयले बढ्यो सुनको मूल्य-Sutra News

एकैदिन १६ सयले बढ्यो सुनको मूल्य

आइतबार, २ असार २०८१

आइतबार, २ असार २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । असार महिनाको पहिलो कारोबार दिन (आइतबार) शुक्रबारको तुलनामा तोलामै एक हजार छ सय रुपैयाँले मूल्य बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।



मूल्य बढेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४२ हजार एक सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

स्थानीय बजारमा गत साता सुनको मूल्यमा खास घटबढ भएको थिएन । जेठ २७ मा प्रतितोला एक लाख ४१ हजार रुपैयाँ पुगेको सुनको मूल्य जेठ ३२ मा आउँदा प्रतितोला एक लाख ४१ हजार दुई सय रुपैयाँ कायम भएको थियो । तर, नयाँ महिना लागेसँगै मूल्य ह्वात्तै बढेको छ ।

सुनको मूल्य बढ्दा स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा तोलामा २० रुपैयाँले बढ्दै चाँदी प्रतितोला एक हजार आठ सय २० रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको घटबढको प्रभाव स्थानीय बजारमा परेको देखिन्छ । अर्कोतर्फ बजेटसँग भन्सारदर बृद्धि हुँदा पनि मूल्य आकासिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट