मनकामना केबुलकार ५० दिन बन्द हुने-Sutra News

मनकामना केबुलकार ५० दिन बन्द हुने

आइतबार, २ असार २०८१

आइतबार, २ असार २०८१

काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ ।



केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

उनका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबुल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताए ।

स्तरोन्नति कार्यका लागि दक्ष प्राविधिक अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने उनको भनाइ थियो । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विं.सं. २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको हो ।

केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन)मा रहेको रेष्टुरेन्ट सेवा निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट