हाम्रा विश्वविद्यालयहरू राजनीतिका अखडा हुन्, यसमा कुनै दुई मत छैन् । फेरि यसो भनिरहँदा, विश्वका ठूला–ठूला क्रान्तिहरू विश्वविद्यालयबाट नै सुरु भएको कुरालाई अस्वीकार गर्न मिल्दैन । नेपालको इतिहासलाई केलायौं भने पनि राजनीतिक परिवर्तनमा विश्वविद्यालयको भूमिका अहम् पाउँछौँ । जसमा विद्यार्थी सङ्गठनहरूको भूमिका असामान्य छ । विद्यार्थी संगठनहरू सडकमा नओर्ली आन्दोलन नै सुरुवात नभएका स्थिति पनि थुप्रै छन् ।
तर, यसो भनिरहँदा आजको विश्वविद्यालयको अवस्थाबारे हामी मौन बस्न मिल्दैन । समय परिवर्तन भएको छ । समयको मागअनुसार विश्वविद्यालयभित्रको संरचना परिवर्तन हुन आवश्यक छ । विश्वविद्यालयभित्रका विद्यार्थी सङ्गठनहरूको भूमिका परिवर्तन हुन आवश्यक छ । हिजोको माग थियो, आन्दोलन, तर आजको माग बेग्लै छ । विश्वविद्यालयले देशलाई अगाडि बढ्न उपायहरू दिनुपर्ने भएको छ । विश्वविद्यालयभित्रका समस्या पनि संवादबाटै टुंग्याउने अवस्था छ । यद्यपि, त्यसो हुन सकिरहेको छैन ।
आज पनि विश्वविद्यालयभित्र राजनीतिक दलहरूको खुला हस्तक्षेप जारी छ । परिवर्तित व्यवस्थापछि पनि विश्वविद्यालयमा प्रधानाध्यापक नियुक्तिदेखि लिएर पियन नियुक्तसम्ममा राजनीति भागबन्डा हुने गरेको छ । भौतिक निर्माणको कार्यदेखि विश्वविद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्ने नाममा पनि राजनीति हस्तक्षेप भइरहेको पाइन्छ । भागबन्डामा सहमति नजुट्दा हानाहानको घिनलाग्दो दृश्य पनि सतहमा देखिन्छ ।
विश्वविद्यालय भनेको विद्यार्थीहरूको शैक्षिक योग्यता मात्र नभएर उसको समग्र पक्षको बृहत्तर विकास गर्ने थलो हो । यसैको लागि राज्यले अर्बौं रुपैयाँ लगानी गरेको हुन्छ । तर विडम्बना, हाम्रा विश्वविद्यालयहरू सिक्ने थलो होइन, अराजक राजनीति गर्ने थलो बनिरहेका छन् । यसो भनिरहँदा थुप्रै विद्यार्थी नेताहरूलाई आहत होला तर, वास्तविकता यही नै हो ।
पंक्तिकारले पनि आफ्नो विश्वविद्यालयको शैक्षिक जीवनको एउटा चरण पार गरिसक्दा, धेरै वर्ष अगाडि विश्वविद्यालय भर्ना भएका विद्यार्थी, अहिले पनि विद्यार्थी नेताको रूपमा त्यहीँ पाएको छ । स्नातक तह शैक्षिक कार्यक्रम जम्मा चार वर्षको हुन्छ तर, विद्यार्थी नेताहरू १० वर्षसम्म त्यहीँ रमाइ रहन्छन् । तिनीहरूको काम भनेको पार्टी राजनीति गर्ने बनिरहेको छ । उनीहरूको चिन्ता विद्यार्थीहरूको हक–अधिकार सुनिश्चित गर्दै विश्वविद्यालयलाई व्यवस्थित सिकाइ थलोको रुपमा विकास गर्नतर्फ होइन, पार्टी राजनीतिलाई कसरी अगाडि बढाउने भन्नेमा देखिन्छ । एयरपोर्टमा नेताहरूको स्वागत गर्न पुग्ने, नेताहरूको लागि भिड जम्मा गर्ने, विरोधको नाममा सार्वजनिक सम्पत्तिमाथि धावा बोल्ने आदि काम उनीहरूबाट भइरहेका छन् ।
हामीले जतिसुकै अराजकता सिर्जना गरे पनि हुन्छ, किनभने हामीलाई संरक्षण गर्नेहरू माथि छन्, उनीहरूले हामीलाई केही हुन दिँदैनन् । हामीसँग संगठनको तागत छ । जस्ता कुराहरू विद्यार्थी सङ्गठनमा भइरहेको पाइन्छ । गल्ती गरेपनि राजनीतिक संरक्षण हुँदा कानुनी कारबाहीबाट चुकिरहेको पाइन्छ । कतिपय सन्दर्भमा गम्भीर घटनाहरू पनि सहमतिमा टुंगिएका देखिन्छन् ।
किन आज समाजमा निजी विद्यालयहरूको जालो फैलिँदै छ ? किन राज्यको अर्बौं रुपैयाँ लगानी रहेको सार्वजनिक विद्यालयहरूमाथि अभिभावक र विद्यार्थीको विश्वास छैन् ? किन विद्यार्थी संगठनहरू यस्ता विषयमाथि छलफल गर्न तयार छैनन् ?
विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको विरोधको शैली रचनात्मक हुनुपर्छ । विरोधले कसैको केही क्षति नगरी, माग पुरा गराउन सक्ने ल्याकत राख्नुपर्छ । तब न हामी विश्वविद्यालयको विद्यार्थी हुनसक्छौं । विश्वविद्यालयको विद्यार्थीहरू समाज, राज्य र विश्वको बौद्धिक सम्पत्ति हो । हामीलाई अराजक हुन छुट छैन् । कुनै पनि मानवीय सभ्यता कस्तो थियो, त्यो समाज, राज्य, देश कस्तो थियो भन्ने हेर्न, पहिला हामी त्यहाँको विश्वविद्यालय र विद्यार्थी कस्ता छन् भनेर हेर्ने गर्छौं । विश्वविद्यालय र विद्यार्थी जति सिर्जनशील हुन्छ, त्यो समाज र देशको विकास त्यति नै छिटो हुन्छ ।
राजनीति सिकाउने पनि विश्वविद्यालयले नै हो । किनभने यहीँबाट राज्य सञ्चालक तयार हुने हो । भविष्यका राम्रा नेताहरू त्यहीँबाट आउने हुन् । विश्वविद्यालयले समाजलाई डो¥याउने अवस्था हुनुपर्छ । राजनीतिक विज्ञहरू विश्वविद्यालयले जन्माउनुपर्छ । यसो भनिरहँदा विश्वविद्यालयलाई विश्वविद्यालयकै रुपमा अगाडि बढाउन सबै सुध्रनु जरुरी छ । राजनीतिक दलहरूले विश्वविद्यालयप्रतिको बुझाई परिवर्तन गर्नुपर्छ । विद्यार्थी सङ्गठनहरूको संरचना परिवर्तन हुनैपर्छ ।