काठमाडौं । दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार घोषणा गरेको छ ।
‘रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा कैदीहरूले दुई जेल कर्मचारीलाई बन्धक बनाएका छन्, बन्धकहरूको रिहाइका लागि वार्ता भइरहेको छ,’ उनीहरूले एक विज्ञप्तिमार्फत जानकारी गराए ।
राज्य समाचार एजेन्सी तासका अनुसार बन्धक बनाउनेहरू आतंकवादको आरोपमा अदालतमा उपस्थित बाँकी आइएसका सदस्यमध्येका हुन् । जिहादी संगठनले रुस लक्षित थुप्रै आक्रमण गरेको छ ।
२२ मार्चमा मस्को नजिकैको कन्सर्ट हलमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तिमा १४४ जनाको मृत्यु र सयौँभन्दा बढी घाइते भएका थिए । यो आक्रमण दुई दशकमा रुसी भूमिमा भएको सबैभन्दा घातक आक्रमण थियो ।
आइएसले आक्रमणको जिम्मेवारी लिएको थियो । त्यसपछि पूर्व सोभियत गणतन्त्र ताजिकिस्तानका चार संदिग्ध आक्रमणकारीसहित २० जनाभन्दा बढीलाई पक्राउ गरिएको हो ।