सत्ता साझेदारबीच खटपट-Sutra News

सत्ता साझेदारबीच खटपट

माओवादी सचिव साह भन्छन्– असन्तुष्टि, प्रधानमन्त्रीमाथि दबाब बढाउने रणनीतिबाट प्रेरित छ

आइतबार, २ असार २०८१

आइतबार, २ असार २०८१

काठमाडौं । सदनमा प्रस्तुत बजेटमाथि छलफल चलिरहँदा सत्ता साझेदारबीच बजेटकै विषयलाई लिएर खटपट सुरु भएको छ । प्रस्तुत बजेटलाई लिएर प्रमुख सत्ता साझेदार नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिकरुपमै असन्तुष्टि जाहेर गरेका छन् ।



एमाले र रास्वपाका नेताहरुले बजेटलाई लिएर सरकारकै भविष्यमाथि समेत प्रश्न उठ्ने शैलीमा अभिव्यक्ति दिएका छन् ।

एमालेका सांसदहरुले संसदमा बजेटका अन्तरवस्तुमाथि प्रश्नहरु उठाइरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक नै राखेर असन्तुष्टि जाहेर गरेका छन् । वर्तमान सरकार टिकाइरहन आवश्यक नरहेको शैलीमा ओलीले ‘सन्तोष मान्ने ठाउँ नरहेको’ बताएका छन् ।

“यो बजेटमा एक दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा गरिबीतिर देश गए पनि के भयो र ? हामी सरकारमा छँदै छौं भनेर हुन्छ ?”, एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा शनिबार ओलीले भनेका छन्, “यति चिज हुँदैन भने अनि कसरी सन्तोष मान्ने ?”

यसअघि बजेट सार्वजनिक भएलगत्तै पनि ओलीले बजेटका अन्तरवस्तुबारे विरोध जनाएका थिए । विशेषगरी अर्थमन्त्री वर्षमान पुनले सरकारको नभई पार्टीको बजेट ल्याएको टिप्पणी ओलीले गरेका थिए ।

“यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो, छलफल नहुँदा अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ”, बजेट प्रस्तुत भएपछि जेठ १९ मा संसदीय दलको बैठक राखेर ओलीले भनेका थिए, “रकमको बाँडफाँट पनि एकातिर ढल्किएको जस्तो देखिन्छ ।”

एमालेबाट बजेटमाथि असन्तुष्टि जाहेर भइरहँदा सत्तारुढ रास्वपाले पनि सरकारबारे मुख खोलेरै असन्तुष्टि पोखेको छ । वर्तमान सरकारकै युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारीमा रहेका रास्वपा नेता विराजभक्त श्रेष्ठले जुनसुकै बेला रास्वपा सरकारबाट बाहिरिन सक्ने संकेत गरेका छन् ।

“हामी सरकारमा छौँ, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरी चलिरहेको छ, हामी दुईधारे तरबारका बीचमा चलिरहेका छौँ ”, श्रेष्ठले रास्वपाको एक कार्यक्रमलाई सम्बोधनका क्रममा भनेका छन्, “केही चिजमा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन तयार छ, राजीनामा पत्रमा बोकेर हिँडेका छौँ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बजेट पारितसँगै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । उनले जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागि गराउने तयारी गरिरहेका छन् । प्रचण्डले दुवै दललाई सरकारमा सहभागि गराउन छलफल पनि गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटिरहँदा सुरु भएको खटपटले भने सरकारकै भविष्य के हुने अन्योल सिर्जना गरेको छ । पछिल्लो खटपटले कतै सरकार त ढल्दैन ? प्रश्न उब्जिएको छ ।

यद्यपि, माओवादी केन्द्रका सचिव गणेश शाह बजेटमाथि सत्ता साझेदारले देखाएको असन्तुष्टि व्यर्थको भएको टिप्पणी गर्दछन् । एमालेले व्यक्त गरेको असन्तुष्टि सरकारलाई दबाबमा राख्ने रणनीतिबाट आएको उनले बताए ।

“संसदमा सैद्धान्तिक विषयमा किन छलफल हुन सकेन ? यो सबैलाई थाहा छ, छलफल हुन नसकेकै कारण बजेटमाथि पूर्ण सन्तुष्टी हुने कुरा भएन”, सचिव साहले भनेका छन्, “अहिले असन्तुष्टि देखाएर सरकारलाई आफू अनुकुल हिँडाउन सकिन्छ कि भन्ने ध्येयमा एमाले देखिएको छ, यो सरकारमाथि दबाब बढाउने रणनीतिभन्दा बाहेक केही होइन ।”

मन्त्रिपरिषद् पुनर्गठन गर्ने र सरकारमा नाउपा र जनमतलाई समेट्ने तयारी गर्दै गर्दा आफ्ना मन्त्रालय खोसिने त्रास एमालेमा देखिएको उनले बताए । “मन्त्रीपरिषद् पुनर्गठनको विषय छ, नाउपा र जनमतलाई समेट्ने कुरा छ, यस्तोमा बजेटबारेको असन्तुष्टि देखाएर प्रधानमन्त्रीलाई आफू अनुकुल हिँडाउन सकिन्छ कि भन्ने लागेको होला”, उनले भनेका छन् ।

असन्तुष्टि व्यक्त गरेपनि एमालेले बजेट पारितमा सहयोग गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट