काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक बाबुले आफ्नी १२ वर्षीया छोरीको विवाह ७२ वर्षीय पुरुषसँग गर्ने प्रयास गरेका छन् । पाकिस्तानी मिडिया इरी न्युजका अनुसार प्रहरीले समयमै उनीहरुको घर पुगेर विवाह रोकेर बेहुलालाई पक्राउ गरेको थियो ।
बालिकाका बुबा आलम सैयदले आफ्नी छोरीलाई ७२ वर्षीय हबिब खानलाई पाँच लाख पाकिस्तानी रुपैयाँमा बेचेको प्रहरीले जनाएको छ । त्यसपछि दुवैले विवाह गर्ने निर्णय गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी बालिकाको घरमा पुगेको थियो । उनीहरुले बेहुला हबिब र निकाह ख्वान (विवाह गराउने व्यक्ति)लाई पक्राउ गरेको हो । तर, बालिकाका बाबु त्यहाँबाट भागेका थिए ।
फरार बाबुको खोजी
प्रहरीले पक्राउ परेका अभियुक्त र बाबुविरुद्ध बालविवाह ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । बालिकाका बाबुको खोजी भइरहेको छ । पाकिस्तानमा नाबालिग बालिकाको विवाहविरुद्धको कानून भए पनि देशमा यस्ता घटनाहरु बाहिर आउने क्रम जारी छ ।
मे ६ मा स्वात सहरमा एक बुबाले आफ्नी १३ वर्षीया छोरीको विवाह ७० वर्षीय पुरुषसँग गरिदिएका थिए । तर, पछि प्रहरीले त्यहाँ पुगेर बाबु र दुलहालाई पक्राउ गरेको थियो । एजेन्सी