काठमाडौं । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भागमा स्थानीय तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
यी प्रदेशको केही स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भागमा अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।