काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार बढेको सुनको मूल्य सोमबार घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थानीय बजारमा सुन तोलाको छ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४२ हजार एक सय रुपैयाँ थियो ।
सुनको मूल्यमा भइरहेको घटबढको प्रभाव चाँदीको मूल्य पनि देखिएको छ । सुनको मूल्य घटेसँगै सोमबार चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । महासंघका अनुसार आइतबारको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँले घट्दै सोमबार चाँदी प्रतितोला एक हजार आठ सय रुपैयाँ कायम भएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको घटबढको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ । सँगै, भन्सारदर बृद्धिसँगै सुनको मूल्यमा बृद्धि भएको थियो ।